खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

23 March, 2026

इजरायल–अमेरिका र इरानबीच जारी तनावपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको अवस्थामा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ७ जना नेपाली पक्राउ परेका छन्।

इरानले यूएईमाथि गरेको भनिएको मिसाइल तथा ड्रोन आक्रमणपछि त्यससँग सम्बन्धित फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा यूएई प्रहरीले नेपालीहरूलाई नियन्त्रणमा लिएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका छन्। मन्त्रालयले यस्ता संवेदनशील विषयसँग सम्बन्धित सामग्री नखिच्न र सामाजिक सञ्जालमा साझा नगर्न पटक–पटक अनुरोध गर्दै आएको छ।

यूएई सरकारले पनि यसअघि नै सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यस्ता फोटो तथा भिडियो सार्वजनिक नगर्न चेतावनी दिएको थियो। तर सो निर्देशनको अवज्ञा गर्दै केही नेपालीले सामग्री पोस्ट गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

यूएईको महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि पक्राउ गरिएका व्यक्तिमाथि अनुसन्धान जारी छ। दोषी ठहरिएमा एक वर्षसम्म कैद सजाय, त्यसपछि देश निकाला (डिपोर्ट) र एक लाख यूएई दिरामसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024