खाडी द्वन्द्वको राप नेपालका गाउँसम्मै

23 March, 2026

Prakash Baral, Menuka Dhungana, Ram Prasad Chauhan & Nawaraj Shrestha

रामेछाप, बर्दिया, बागलुङ र अछाम — रामेछापको मन्थली–९ पुरानागाउँका ३८ वर्षीय देवेन्द्रकुमार श्रेष्ठ दुबईको जुमेराह भिलेज सर्कलस्थित पाँचतारे होटलमा कार्यरत थिए । मासिक ८० हजार रुपैयाँभन्दा बढी तलबभत्ता थाप्थे । तर जब अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भयो, इरानले दुबईमा पनि मिसाइल र ड्रोन प्रहार गर्न थाल्यो । यो खबर सुनेर यता परिवारजनले पनि चिन्ता गर्न थाले । युद्ध सुरु भएको १२ औं दिनमा देवेन्द्र बिदा मिलाएर घर फर्किए ।

दुबईमा देवेन्द्र आफैं त आक्रमणमा परेनन् तर विस्फोटले आफू बसेको क्षेत्र भूकम्प आएजस्तै हल्लिएको अनुभव धेरै पटक गरे । तर असुरक्षाको हल्ला जति सामाजिक सञ्जालमा फैलाइएको छ, त्यस्तो अवस्था दुबईमा नरहेको उनी बताउँछन् । ‘सामाजिक सञ्जालमा भ्रामक भिडियोहरू फैलिएका छन् । खाडीमा काम गरिरहेका नेपालीका परिवार फेक भिडियो हेरेर डराइरहेका छन् । म त्यहाँ छँदा वास्तविकता त्यति डरलाग्दो थिएन,’ उनले भने ।

देवेन्द्रकी श्रीमती कल्पनाले युद्ध सुरु भएको खबर सुनेपछि श्रीमान् गाउँ नआइपुग्दासम्म राम्ररी निदाउन नसकेको सुनाइन् । ‘रेडियो, फेसबुक र टिकटकमा लडाइँबारे सामग्री आउँथ्यो । श्रीमान्को चिन्ता मात्रै लाग्थ्यो । हामीले नै जोडबल गरेपछि उहाँ फर्कनुभएको छ, हामी ढुक्क भएका छौं,’ उनले भनिन्, ‘कमाइ त राम्रै थियो तर अवस्था सामान्य नभएसम्म उहाँलाई फेरि विदेश पठाउन मन छैन ।’

देवेन्द्रले ७ वैशाखसम्म बिदा लिएका छन् । तर फेरि दुबई जाने कि नजाने भन्ने अन्योलमै छन् । दुबईमा रहेका साथीहरूसँग उनी नियमित सम्पर्कमै छन् । उनका कान्छा भाइ दुबईमै छन् । ‘साथीहरूले होटलका कोठा खाली हुँदै गएको र व्यवसाय सुस्ताउने संकेत देखिएको बताएका छन्,’ देवेन्द्रले भने, ‘तत्काल फर्कनु हुँदैन भन्ने सल्लाह पाइरहेको छु ।’

मन्थली–९ पुरानागाउँकै २९ वर्षीय ज्ञानुकुमार श्रेष्ठ दुबईमै छन् । पाँचतारे होटलमा कार्यरत उनले मासिक २ लाख रुपैयाँ हाराहारी कमाउने गरेका छन् । तर युद्धका कारण दुबईको पर्यटन क्षेत्रमा असर पार्न थालेको छ । होटलमा ग्राहक आउने क्रम घट्दै गएको छ । ज्ञानु अहिलेको कम्पनीको नियमित छुट्टीमा छन् । ‘होटलहरू प्रायः बन्दजस्तै छन्, खाने मान्छे आउँदैनन् । म पनि १५ दिनदेखि काम नगरी बसिरहेको छु,’ उनले सुनाए, ‘बाहिर बेलाबेला विस्फोटको आवाज सुनिन्छ तर यहाँको अवस्था त्यति डराउनुपर्ने खालको छैन ।’

दुबईमा दिनमा २० देखि २५ वटा मिसाइल प्रहार भइरहे पनि जनजीवन धेरै प्रभावित नभएको ज्ञानुले जानकारी दिए । ‘मिसाइल माथि नै पड्किन्छ, प्रत्यक्ष जोखिम छैन । सरकारले सुरक्षाका लागि मोबाइलमै अलर्ट पठाउँछ,’ उनले भने, ‘एक पटक भने होटल नजिकै बमको टुक्रा खसेको थियो ।’ तर असुरक्षाको मनोवैज्ञानिक प्रभावले पर्यटन क्षेत्र भने नराम्ररी प्रभावित भएको उनले बताए । पर्यटक नआएपछि ठूला होटल सञ्चालनमै समस्या देखिएको छ ।

ज्ञानु कार्यरत होटल अस्थायी रूपमा बन्द हुँदा करिब ५ सय कर्मचारीको रोजगारी प्रभावित भएको छ । ‘कम्पनीले नियमित बिदाको तलब त दिन्छ, तर बाँकी समयको आम्दानी छैन,’ उनले भने, ‘अवस्था कहिले सामान्य हुन्छ भन्ने थाहा छैन ।’ यस्तो अवस्था धेरै लम्बिने देखिए घर फर्कने उनले बताए । ‘सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित भिडियोले घरमा तनाव भइरहेको छ,’ उनले सुनाए, ‘आमा–बुबाले घर आउन भनिरहनुभएको छ । परिवारकै चिन्ताका कारण पनि केही समयका लागि घर फर्कने सोचमा छु ।’

ज्ञानुका अनुसार दुबईमा अमेरिकी सैन्य क्याम्प नभएकाले अन्य सहरको तुलनामा आक्रमण कम हुने गरेको छ । ‘इरानले जहाँ अमेरिकी क्याम्प छ, त्यहाँ आक्रमण गरिरहेको छ,’ उनले भने, ‘युद्धले पर्यटन क्षेत्र प्रभावित भए पनि अन्य क्षेत्र सामान्य रूपमा चलिरहेको छ ।’ अमेरिका–इजरायलले २८ फेब्रुअरी (१६ फागुन) मा इरानमाथि हमला गरेपछि इरानले जवाफी हमला गरिरहेको छ । इरानले यूएई, कतारलगायत मुलुकमा मिसाइल र ड्रोन प्रहार गरिरहेको छ । युद्ध लम्बिँदै जाँदा पश्चिम एसियामा कार्यरत नेपालीका परिवारजन चिन्तामा परेका छन् । बिदामा आएर र नयाँ श्रम स्वीकृति लिएर खाडी मुलुक जान ठिक्क परेका युवा पनि युद्धका कारण रोकिएका छन् ।

बर्दियाको गुलरिया–३ भरियाका ३४ वर्षीय कृष्णबहादुर सारु मगर दुई वर्ष साउदीमा बिताएर नौ महिनाअघि फर्किएका थिए । वैदेशिक रोजगारीमा दुई वर्ष कडा मिहिनेत गर्दासमेत राम्रो कमाइ नभएपछि उनले दुबई जाने योजना बनाए । यसका लागि उनले सहकारीबाट दुई लाख ऋण लिए । श्रम स्वीकृति, मेडिकललगायत सम्पूर्ण प्रक्रिया पूरा भएर भिसा पनि आइसकेको थियो । उड्नका लागि टिकट मात्र लिन बाँकी थियो । युद्धका कारण उनको दुबई प्रस्थान अनिश्चित बनेको छ । ‘निर्वाचनलगत्तै उड्ने तयारीमा थिएँ । काठमाडौंको मेनपावरमा सम्पर्क गर्दा अझै कुर्नू भन्छन् । खाडी मुलुकमा भइरहेको तनावले अहिले घरमै थन्किएको छु,’ कृष्णले भने । साउदी अरब जान तयारीमा रहेका गुलरिया–१२ उचवालालपुरका साहनुर आलम साई पनि घरमै बस्न बाध्य भएका छन् । ‘तीन वर्ष मलेसियामा बिताएर ३ महिनाअघि घर फर्किएको थिएँ,’ उनले भने, ‘साउदी जान अन्तर्वार्ता दिएर पास भएको एक महिना भयो । तर त्यतातिर भइरहेको युद्धले भिसा आउन ढिलो भएर घरमै छु ।’

बागलुङको बडिगाड–७ का झकेन्द्र घर्ती दुई वर्षदेखि साउदी अरबमा काम गर्थे । गत पुस अन्तिम साता २ महिने बिदामा घर आउँदासम्म त्यहाँको अवस्था ठीकठाक थियो । अहिले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वले उनको जागिरमा असर परेको छ । २९ फागुनमा साउदी फर्कने उनको टिकट थियो । तर जहाज उडेन । काठमाडौंबाट उनी घर फर्किए । विदेश उड्ने अन्योल भइरहेका बेला ऋण कसरी तिर्ने भन्ने चिन्ता सुरु भइसकेको छ । झकेन्द्रकै छिमेकी ओमबहादुर घर्ती पनि समस्यामा छन् । बिदामा आएका उनी फागुन अन्तिम साता फर्कने योजनामा थिए । ‘पढेको छैन, साउदीमा त लेबर काम गर्थें’ उनले भने, ‘यता केही छैन, काम पाइँदैन ।’ कृषिबाट घर खर्च नचलेपछि उनी दुई वर्षअघि साउदी गएका थिए । साउदी जाँदा लागेको ऋण र घर खर्चका लागि अझै काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

पश्चिम एसियामा युद्ध चलिरहेकै बेला पनि जिल्ला प्रशासन कार्यालय बागलुङमा राहदानी बनाउनेको लर्को छुटेको छैन । तर अधिकांश युवा अब के हुने हो भन्ने चिन्तामा रहेको प्रशासन कार्यालयको आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता जनक गैरेले बताए । ‘धेरैजसो युवाले राहदानी बनाउन आउँदा खाडी देशमा जान पाइन्छ कि पाइँदैन भनेर सोध्छन्,’ उनले सुनाए, ‘त्यो त हामीलाई पनि थाहा हुँदैन, बरु केही पर्खेर सहज अवस्था भएपछि मात्र जान सुझाव दिने गरेका छौं ।’

‘सुरक्षित भवनभित्र त छु, तर मन असुरक्षित छ’: दीपराज ढुंगाना, दुबईमा कार्यरत

अहिले मेरो हातमा एउटा स्क्रिनसट छ, त्यसमा लेखिएको छ, ‘पब्लिक सेफ्टी अलर्ट’ । मोबाइलको स्क्रिनमा यो चेतावनी बज्नेबित्तिकै दुबईको ‘एक्स्पो २०२० डीआईपी वान एरिया’ को माहोल एकाएक स्तब्ध हुन्छ । बाहिर सडकमा गुडिरहेका गाडीहरू रोकिएझैं लाग्छ र मेरो मुटुको धड्कन अछामको मंगलसेन पुगेर ठोकिन्छ ।

मैले यहाँ कफी बनाउन थालेको तीन वर्ष भयो । मेसिनबाट कफी झर्दा आउने त्यो बास्ना पहिले–पहिले मीठो लाग्थ्यो । तर अहिले कति बेला कुन मिसाइल खस्ने हो भन्ने डरले कफीको बास्ना पनि हराएको छ । बाहिर मिसाइल डिफेन्स सिस्टमले केही वस्तु डिस्पोज गर्दा आउने ठूलो आवाजले मलाई राति निदाउन दिँदैन । आँखा चिम्लियो कि अछाममा रहेका आमा–बुबा र आफन्तको अनुहार अगाडि आउँछ । दुबई इन्टरनेसनल एयरपोर्टको टर्मिनल–२ मा आक्रमण भएको खबर सुनेदेखि म र मसँगै रहेका नेपाली साथीहरू त्रासमा छौं । धेरै कम्पनीले साथीहरूलाई बेतलबी बिदामा घरभित्रै बस्न भनेका छन् । यहाँको सरकारले भन्छ—‘झ्याल र ढोकाबाट टाढै बस्नुस्, सुरक्षित भवनभित्र जानुस् ।’ म सुरक्षित भवनभित्र त छु, तर मेरो मन असुरक्षित छ ।

अस्ति भिडियो कलमा कुरा हुँदा आमाका आँखा सुन्निएका थिए । फेसबुकमा कसैले मिसाइल पड्केको भिडियो हालिदिँदा रहेछन् । त्यो देखेपछि आमालाई लाग्दो रहेछ, ‘छोरा असुरक्षित छ ।’ आमा फोनमा रुँदै भन्नुहुन्छ, ‘बाबु, पैसा त पछि कमाउनू, तँ सुरक्षित बस्, घर फर्के ।’ आमालाई म सुरक्षित छु भनेर सम्झाउँछु, तर भित्रैबाट मलाई थाहा छ, अचानक कहाँबाट के हुन्छ, कसैले भन्न सक्दैन । तीन वर्षअघि कान्छो भाइ गुमाउँदाको पीडाले अझै हाम्रो परिवारलाई छाडेको छैन । दिदी देशकै सेवामा नेपाली सेनामा छिन् । म घरको जेठो छोरो, परिवारको भरोसा बनेर यहाँ आएको हुँ । तर अहिले लाग्छ, यो खाडीको युद्धले हाम्रो भरोसा नै खाइदिने हो कि ?

न सुरक्षित बस्न सक्ने अवस्था, न त घर फर्किने जहाजको टुंगो । नेपाल सरकारले हाम्रा लागि केही समन्वय गरिदिए हुन्थ्यो भन्ने लाग्छ । तर अहिलेसम्म सोध्न कोही आएको छैन । हामी यहाँ यस्तो युद्धको साक्षी बनिरहेका छौं जुन हाम्रो होइन, तर यसको रापले हामीलाई नै डढाइरहेको छ । अहिलेलाई यति नै भन्न सक्छु— यहाँको आकाशमा मिसाइल उडिरहेका छन्, तर मेरो ध्यान भने अछामको त्यो शान्त आँगनमै छ, जहाँ मेरी आमा मेरो एउटा फोनको पर्खाइमा मोबाइल समातेर टोलाइरहनुभएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024