रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँका २९ वर्षीय ज्ञानुकुमार श्रेष्ठका लागि दुबईको पाँचतारे होटेलको रोजगारी पछिल्ला दिनमा अनिश्चितताले ढाकिएको छ।
तीन वर्षदेखि दुबईस्थित एक पाँचतारे होटेलमा कार्यरत श्रेष्ठले मासिक २ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्। तर अहिले मध्यपूर्वमा विकसित अमेरिका–इजरायल–इरानबीचको तनावले उनको दैनिकी नै बद्लिएको छ। अहिले उनी कम्पनीको नियमित छुट्टीमा दुबईमै छन् ।
तर फेब्रुअरी २८, २०२६ बाट सुरु भएको द्वन्द्वले बिस्तारै दुबईको पर्यटन क्षेत्रमा असर पार्न थालेपछि होटेलमा ग्राहक आउने क्रम घट्दै गए। अहिले पर्यटकको अफ सिजनसँगै द्वन्द्वको प्रभाव जोडिँदा दुबईमा रोजगारीमा रहेका धेरैजसो कामविहीन अवस्थामा छन्। ‘होटेलहरू प्रायः बन्दजस्तै छन्, खाने मान्छे आउँदैनन्। म पनि १५ दिनदेखि काम नगरी बसिरहेको छु,’ श्रेष्ठले भने, ‘बाहिरबाट बम पड्किएको आवाज सुनिन्छ, तर यहाँको अवस्था त्यति डराउनुपर्ने छैन।’
दुबईमा दैनिक २० देखि २५ वटा मिसाइल प्रहार भइरहेको समाचारबीच पनि जनजीवन सामान्यजस्तै रहेको उनको अनुभव छ। ‘मिसाइल माथि नै पड्किन्छन्, प्रत्यक्ष जोखिम छैन। सरकारले सुरक्षाका लागि मोबाइलमै अलर्ट पठाउँछ,’ उनले भने, ‘एक पटक भने होटेलनजिकै बमका टुक्रा खसेको थियो ।’
तर सुरक्षा जोखिमको मनोवैज्ञानिक प्रभावले पर्यटन क्षेत्र भने नराम्ररी प्रभावित भएको छ। पर्यटक नआएपछि ठूला होटेलहरू सञ्चालनमै समस्या देखिएको छ। श्रेष्ठ कार्यरत होटेल अस्थायी रूपमा बन्द हुँदा करिब ५०० कर्मचारीको रोजगारी प्रभावित भएको छ। ‘कम्पनीले नियमित बिदाको तलब त दिन्छ, तर बाँकी समयको आम्दानी छैन,’ उनले भने, ‘अब अवस्था कहिले सामान्य हुन्छ भन्ने अनिश्चित छ । केही हप्तामा पनि हुन सक्छ, महिना पनि लाग्न सक्छ।’
हाल दुबईमा रमदान चलिरहेकाले पनि गतिविधि केही सुस्त छ। अब अवस्था सुधार हुन्छ कि झन् बिग्रिन्छ भन्ने हेरेर नेपाल फर्कने तयारीमा श्रेष्ठ छन्। ‘अप्रिल अन्त्यतिर नेपाल आउने सोचमा छु,’ उनले भने।
सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित भिडियोप्रति उनले असन्तुष्टि जनाए। ‘फेक भिडियोले घरपरिवारलाई झन् चिन्तित बनाएको छ। यहाँको वास्तविक अवस्था सामान्य छ,’ उनले भने।
श्रेष्ठका अनुसार दुबईमा अमेरिकी सैन्य क्याम्प नभएकाले अन्य सहरको तुलनामा आक्रमण कम भएको छ। ‘इरानले पब्लिक क्षेत्र लक्षित गरेको देखिँदैन, तर जहाँ अमेरिकी क्याम्प छन्, त्यहाँ भने आक्रमण भइरहेको छ,’ उनले भने । उनका गाउँकै चार जना युवा पनि दुबईमा कार्यरत छन्। पर्यटन क्षेत्र प्रभावित भए पनि अन्य क्षेत्र भने सामान्य रूपमा सञ्चालनमा रहेको उनले जानकारी दिए।
नेपाल फर्किएपछि फेरि दुबई नै फर्कने वा अन्य देश जाने भन्ने विषयमा उनी अझै अन्योलमा छन्। ‘नेपालमा व्यवसाय गरेर सफल हुन सकिनँ, त्यसैले फेरि विदेशिनुपर्यो । यदि दुबईमा अवस्था लामो समयसम्म सामान्य भएन भने जापान जाने सोच छ,’ उनले भने।
दुबईमा कमाएको आम्दानीप्रति भने उनी सन्तुष्ट छन्। तर अहिलेको अनिश्चितताले भविष्यको योजना भने अन्योलमा पारेको छ। परिवारको आग्रह र बढ्दो तनावबिच उनी कम्पनीको नियमित छुट्टीमा केही समयका लागि स्वदेश फर्कने तयारीमा छन्।
श्रेष्ठका अनुसार दुबईको अवस्था बाहिर प्रचार भएजस्तो जोखिमपूर्ण नभए पनि परिवार भने चिन्तित छ। उनका बुबा, आमा र भान्जी गाउँमै बस्छन् भने एउटी बहिनी जापानमा छिन्। घरपरिवार सम्झिँदै उनले भने, ‘यहाँ त्यस्तो असुरक्षा केही छैन, म सुरक्षित नै छु। सामाजिक सञ्जालमा देखाइएका जस्ता दृश्य वास्तविक होइनन्, मैले त्यस्ता भिडियो वा फोटो केही राखेको पनि छैन।’
तर सामाजिक सञ्जालमा फैलिएका भ्रामक सामग्रीका कारण परिवारमा चिन्ता बढेको उनले सुनाए। ‘घरमा बुबा–आमा फेक भिडियो देखेर धेरै डराउनु हुन्छ,’ उनले भने, ‘उहाँहरूले बारम्बार घर फर्कन आग्रह गर्नुभएको छ।’ परिवारकै आग्रह र बढ्दो अन्योलबिच अब केही समयका लागि नेपाल फर्किने सोचमा पुगेको उनले बताए।