खाडीमा रहेका ५७ हजार नेपालीले टिपाए नाम

10 March, 2026

मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन् । इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि खाडी मुलुकहरूमा उत्पन्न परिस्थितिका कारण आफ्नो अवस्थाबारे जानकारी दिँदै ५७ हजार १ सय नेपालीले आफ्नो विवरण टिपाएका हुन् ।

पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५७ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएका हुन् । दर्ता भएका विवरणहरू प्राथमिकताकासाथ अध्ययन गर्दै आवश्यकता अनुसार कदम चालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ती देशहरूका केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत छलफल भइरहेको र इच्छुक नेपालीले उडान सञ्चालन भइरहेका स्थानहरूबाट हवाई यात्रा गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अति जरूरी परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगलाई पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024