अहिले मेरो हातमा कफीको कप होइन, एउटा स्क्रिनसट छ- जसमा लेखिएको छ, ‘पब्लिक सेफ्टी अलर्ट’ । मोबाइलको स्क्रिनमा यो चेतावनी बज्नेबित्तिकै दुबईको एक्स्पो २०२० डीआईपी वान एरियाको माहोल एकाएक स्तब्ध हुन्छ । बाहिर सडकमा गुडिरहेका गाडीहरू रोकिएझैँ लाग्छ र मेरो मुटुको धड्कन अछामको मंगलसेन पुगेर ठोकिन्छ ।
मैले यहाँ कफी बनाउन थालेको तीन वर्ष भयो । मेसिनबाट कफी झर्दा आउने त्यो बासना पहिले पहिले मीठो लाग्थ्यो । तर, अहिले कति बेला कुन मिसाइल खस्ने हो भन्ने डरले कफीको बासना पनि हराएको छ । बाहिर मिसाइल डिफेन्स सिस्टमले केही वस्तु डिस्पोज गर्दा आउने ठूलो आवाजले मलाई राति निदाउन दिँदैन । आँखा चिम्लियो कि अछाममा रहेका आमा बुवा र आफन्तको अनुहार अगाडि आउँछ ।
दुबई इन्टरनेसनल एयरपोर्टको टर्मिनल-२ मा आक्रमण भएको खबर सुनेदेखि म र मसँगै रहेका नेपाली साथीहरू त्रासमा छौं । धेरै कम्पनीले साथीहरूलाई बेतलबी बिदामा घरभित्रै बस्न भनेका छन् । यहाँको सरकारले भन्छ- ‘झ्याल र ढोकाबाट टाढै बस्नुस्, सुरक्षित भवनभित्र जानुस् ।’ म सुरक्षित भवनभित्र त छु, तर मेरो मन असुरक्षित छ ।
हिजो बेलुका आमासँग भिडियो कलमा कुरा भयो । आमाका आँखा सुन्निएका थिए । फेसबुकमा कसैले मिसाइल पड्केको भिडियो हालिदिँदा रहेछन् । त्यो देखेपछि आमालाई लाग्दो रहेछ, ‘मेरो छोरा असुरक्षित छ ।’
आमा फोनमा रुँदै भन्नुहुन्छ, ‘बाबु, पैसा त पछि कमाउँला, तँ सुरक्षित बस्, घर फर्के ।’ आमालाई म सुरक्षित छु भनेर सम्झाउँछु, तर भित्रैबाट मलाई थाहा छ, अचानक कहाँबाट के हुन्छ, कसैले भन्न सक्दैन ।
तीन वर्षअघि कान्छो भाइ गुमाउँदाको पीडाले अझै हाम्रो परिवारलाई छाडेको छैन । दिदी देशकै सेवामा नेपाली सेनामा छिन् । म घरको जेठो छोरो, परिवारको भरोसा बनेर यहाँ आएको हुँ । तर, अहिले लाग्छ, यो खाडीको युद्धले हाम्रो भरोसा नै खाइदिने हो कि ?
न सुरक्षित बस्न सक्ने अवस्था, न त घर फर्किने जहाजको टुंगो । नेपाल सरकारले हाम्रा लागि केही समन्वय गरिदिए हुन्थ्यो भन्ने आस छ । तर, अहिलेसम्म कसैले सोध्न आएको छैन । हामी यहाँ यस्तो युद्धको साक्षी बनिरहेका छौं जुन हाम्रो होइन, तर यसको रापले हामीलाई नै डढाइरहेको छ ।
अहिलेलाई यति नै भन्न सक्छु- यहाँको आकाशमा मिसाइल उडिरहेका छन्, तर मेरो ध्यान भने अछामको त्यो शान्त आँगनमै छ । जहाँ मेरी आमा मेरो एउटा फोनको पर्खाइमा मोबाइल समातेर टोलाइरहनुभएको छ ।