दक्षिण कोरियाले चार सय ६६ जना नेपाली कामदार गैरकानुनी रूपमा आफ्नो देशमा बसिरहेको जनाउँदै नेपाल सरकारलाई सूची बुझाएको छ। कोरियाले गत वैशाख २८ गतेसम्म गैरकानुनी बसेका कामदारको सूची बुधबार नेपाललाई उपलब्ध गराएको हो। सूचीमा ३८ जना महिला र अरू पुरुष कामदार छन् ।
गैरकानुनी ठहरिएका सबै कामदार भिसाको अवधि सकिएर पनि त्यहीं बसेका हुन् । सूचीमा कोरियाले अवैध ढंगले बस्ने कामदारको नाम, जन्म मिति, लिंग र राहदानी नम्बर समेत खुलाएको छ। त्यस्ता कामदारले तत्काल नेपाल आउन अटेर गरेमा सरकारले नाम र राहदानी नम्बरका आधारमा खोजी गरी कारबाही गर्ने भएको छ।
नेपालबाट जाने कामदार बर्सेनि बढ्दो क्रममा रहेकाले अवैध कामदारको संख्या पनि अझै बढ्नसक्ने अनुमान कोरियाले गरेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले गैरकानुनी रूपमा कोरियामा बसेका कामदारलाई सम्मानपूर्वक स्वदेश फर्किन आगामी साउन २१ गतेसम्मको समय दिइएको बताए। सरकारले अवैध कामदार तत्काल नफर्किए कोरियामै पक्राउ गरिने चेतावनीसमेत दिएको छ।
नेपालले अवैध कामदार फिर्ता गराउन तत्काल पहल नगरे रोजगारी कोटा कटौती गर्नेसम्मको तयारी कोरियाले गरेको छ। आकर्षक कमाइ हुने भएकाले नेपाली कामदार भिसा अवधि सकिएपछि पनि अटेर गरी कोरियामै बसेका हुन्।
अवैध कामदार साउन २१ गतेभित्र फर्किएमा उनीहरूमाथि हुने सबै किसिमका कानुनी कारबाही फुकुवा गरिने छ। तोकिएको अवधिमा फिर्ता हुनेलाई फेरि कोरिया जान परीक्षामा सहभागी गराइने छ। त्यसपछि पनि अटेर गरी बसेमा भने पक्राउ गरी जेलमा हाल्ने चेतावनी दिइएको छ।
सरकारले कोरियाको रोजगारी कोटा गुम्न नदिन वैधानिक अवधि सकिएपछि स्वदेश फर्किने कामदारलाई सहुलियतपूर्ण ऋण र सीपमूलक तालिम दिने निर्णय पनि गरेको छ। फर्किएका कामदारले आफूले गर्ने काम, आवश्यक तालिम र लागत खर्च पेस गरेपछि अध्ययन गरी सरकारले उपयुक्त तालिम र ऋण उपलब्ध गराउनेछ।
ईपीएसमार्फत कोरिया गएका कामदार चार वर्ष १० महिनासम्म बस्न पाउँछन्। त्यसभन्दा बढी बसेमा स्वत: अवैधानिक हुने व्यवस्था छ। हाल कोरियामा करिब २२ हजार नेपाली कामदार छन्।