रोजगारीको आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियामा ७२ हजार वैधानिक नेपाली कामदार छन्। सन् २०२५ का लागि कोरिया सरकारले कामदारको न्यूनतम पारि श्रमिक मासिक २ लाख ९ हजार रूपैयाँ निर्धारण गरेको छ। अधिकांश उद्योगहरूमा अतिरिक्त समय पनि काम गर्नुपर्ने भएकाले मासिक ३ लाख ५० हजार रूपैयाँसम्म आर्जन गर्ने नेपाली कामदारको संख्या उल्लेख्य छ। तर, नेपाली कामदारहरूले आर्जन गरेको पारि श्रमिकको ५० प्रतिशतभन्दा बढी रकम अवैध बाटो हुन्डीमार्फत नेपाल भित्रिने गरेको छ।
नेपाल सरकार र सरोकारवाला निकायले पर्याप्त रूपमा पहलकदमी गर्न नसक्दा कोरियामा हुन्डी कारोबार मौलाइरहेको छ। हुन्डी कारोबारीले कामदारलाई बैंकिङ प्रणालीबाट नभई हुन्डीबाट पैसा पठाउँदा फाइदा हुने भन्दै प्रलोभनमा पार्ने गरेका छन्। रकम पठाउँदा श्रमिकलाई लाभ हुने भएकाले कामदारहरू पनि हुन्डीतर्फ आकर्षित हुने गरेको पाइएको छ।
हुन्डी सञ्चालकले प्रत्येक दिन विदेशी मुद्राको विनिमय दरअनुसार हुन्डीको कारोबार दर निर्धारण गर्ने गरेका छन्। कोरियामा व्यापार व्यवसाय गर्दै आएका नेपालीको सहयोगमा संकलन गरिएको कोरियन वान चिनियाँ तथा भारतीय व्यापारीसँग समन्वय गरी कारोबार हुने गरेको पाइएको छ। इपीएसमार्फत आएका केही कामदारहरूसमेत यसमा संलग्न छन्।
हुन्डी कारोबारीहरूले आफ्नो बैंक खाता प्रयोग नगरी कामदारहरूलाई प्रलोभनमा पारी उनीहरूको बैंक खाता प्रयोग गर्दै आएको रहस्यसमेत सतहमा आएको छ। कार्य अवधि सकिएर नेपाल फर्किएका कामदार, अध्ययन पूरा गरेर फर्किएका विद्यार्थी र कोरियाबाट डिपोर्ट भएर नेपाल पठाइएका व्यक्तिहरूको बैंक खाता तथा एटीएम कार्ड हुन्डी कारोबारीले चलाउने गरेका छन्।
दक्षिण कोरियामा हुन्डीका लागि उठाएको रकममध्ये अधिकांश रकम कारोबारीले चीन पठाउँछन्। उक्त रकम न्यून बिजकीकरण गरी नेपाल आयात गरिने समानका लागि खर्च गरिन्छ। त्यस्तै अवैध व्यापारका लागि र विदेशमा स्थायी बसोबास गर्ने तथा व्यापार व्यवसाय गर्नेहरूका लागि पनि हुन्डी रकम प्रयोग हुने गरेको पाइएको छ।
हुन्डी कारोबारीसँग नजिक रहेका व्यापारीले थोरै रकमको एलसी खोलेर लाखौंको समान आयात गर्छन्। तर, राजस्व कम तिर्छन्, जसले गर्दा अधिकांश रकम करको दायरा बाहिर रहने हुँदा भ्याट र आम्दानी करमा छली हुँदै आएको छ।
नेपाली राजदूतावासका अनुसार कोरियामा १८ हजार नेपाली विद्यार्थी छन्। विद्यार्थी र अन्य वैधानिक भिसामा रहेका अधिकांश नेपालीले समेत आर्जन गरेको रकम हुन्डीमार्फत नेपाल पठाउने गरेको पाइएको छ। एउटै व्यक्तिले फरक समयमा रेमिट्यान्स र हुन्डी दुवै प्रयोग गर्ने गरेको समेत पाइएको छ। यसरी हुन्डीबाट रकम नेपाल पठाउँदा बर्सेनि सयौं नेपाली ठगीमा पर्ने गरेका छन्। तर, हुन्डी अवैधानिक भएकाले पीडित कानुनी संरक्षणबाट वञ्चित हुँदै आएका छन्।
हुन्डीबाट रकम पठाउँदा व्यक्तिलाई केही सहज र क्षणिक लाभ मिल्ने भए तापनि दीर्घकालमा यसले नेपालको अर्थतन्त्र, बैंकिङ प्रणाली र राष्ट्रिय विकासमा गम्भीर क्षति पुर्याउने भन्दै कोरियास्थित नेपाली राजदूतावासले आमनेपाली समुदायलाई वैधानिक रेमिट्यान्स प्रणाली प्रयोग गर्न आग्रह गरेको छ।
नेपाल ग्रे लिस्टमा
एसिया–प्रशान्त मनी–लौन्डरिङ समूह ‘एपीजी’ र वित्तीय एक्सन टास्क फोर्स ‘एफएटीएफ’ले नेपाललाई निगरानी बढाइएको क्षेत्राधिकार ग्रे लिस्टमा समावेश गरेपछि राजदूतावासले सूचना जारी गर्दै कोरियामा रहेका नेपालीलाई अवैध वित्तीय कारोबार तथा आपराधिक क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।
नेपाली दक्षिण कोरियामा गैरकानुनी रूपमा सञ्चालन हुने वित्तीय कारोबार हुन्डी तथा अन्य आपराधिक गतिविधिमा संलग्न भएको सूचना प्राप्त भइरहेकाले यसले अन्तर्राष्ट्रिय रूपमा नेपाललाई थप जोखिममा पुर्याउन सक्नेतर्फ दूतावासले सचेत गराएको छ।
नेपाल सरकारले एफएटीएफका मापदण्डअनुसार सुधारका प्रयासहरू गरिरहेको अवस्थामै यस्ता अवैध गतिविधि बढेमा नेपालमाथि नकारात्मक प्रभाव पर्न सक्ने दूतावासको भनाइ छ। दूतावासले अवैध आर्थिक कारोबार गर्ने, विदेशबाट उच्च ब्याजको प्रलोभन देखाई बैंकमा स्थायी जम्मा फिक्स्ड डिपोजिटको नाममा रकम संकलन गर्ने वा शंकास्पद कारोबारमा संलग्न हुने जस्ता कार्यहरू आपराधिक मानिने स्पष्ट गरेको छ।
दूतावासले दक्षिण कोरिया तथा अरू देशमा बसेका सम्पूर्ण नेपालीलाई पहिचान, प्रतिष्ठा र मुलुकको छविको रक्षा गर्दै कानुनी रूपमा मात्र आर्थिक कारोबार तथा श्रम–व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ।