केयरगिभरमा १५ हजारले दिए अंग्रेजी भाषा परीक्षा, १२ सय पास

23 June, 2026

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक (केयरगिभर) लागि लिइएको अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय जना मात्रै पास भएका छन् । केयरगिभरका लागि आवेदन दिएका १५ हजारभन्दा बढी आवेदकमध्ये १ हजार २ सय ३१ जना मात्रै पास भएका हुन् ।

केयरगिभरको आवेदन दिनका लागि अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी वान’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार त्रिपुरेश्वरमा सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनमार्फत अंग्रेजी भाषा परीक्षा लिइएको थियो । जसमा १५ हजार ६ सय २६ जनाले भाषा परीक्षा दिएका थिए । तीमध्ये पास हुनेको संख्या जम्मा ७.८ प्रतिशत हो ।

वैदेशिक रोजगार विभागले न्यून संख्यामा अंग्रेजी भाषा परीक्षा पास भएको प्रतिवेदन आएको जनाएको छ । इजरायलले २ हजार ३ सय केयरगिभरका लागि आवेदन माग गरेको थियो । त्यसका लागि बी वान तहको अंग्रेजी भाषा पास गरेको प्रमाणपत्र अनिवार्य गरेको थियो ।

मागभन्दा कम मात्रै भाषा परीक्षामा पास भएपछि अब के गर्ने भन्ने विषयमा विभागले छलफल थालेको छ । यसअघि २०८१ लगिएका केयरगिभरको हकमा ब्रिटिस काउन्सिलबाट अंग्रेजी भाषा परीक्षा लिइएको थियो ।

तर, यो पटक इजरायलस्थित पीवाले नै तोकेर सीआईआईएन इन्टरनेसनललाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार प्रति आवेदकबाट ५ हजार रूपैयाँ शुल्क लिएर अंग्रेजी भाषा परीक्षा लिइएको थियो ।

चुस्त व्यवस्थापन नगरी भाषा परीक्षा लिएको भन्दै परीक्षार्थीहरूले आन्दोलन समेत गरेका थिए । विरोध प्रदर्शनपछि परीक्षा समेत स्थगित भएको थियो । परीक्षा स्थगित गरिएको भन्दै विभागले तत्काल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024