कार दुर्घटनामा नेपाली युवकको मृत्यु: फिलिपिन्समा टुटेको एउटा सपना

1 November, 2011

आशिष लुइँटेल

पाल्पाका शंकरप्रसाद अधिकारीको एउटा ‘ठूलो सपना’ थियो, दुईमध्ये जेठो छोरोइन्जिनियर भएको हेर्ने । ‘बुबा अब डिसेम्बरमा त म भइहाल्छु नि,’ छोरा निखिलले गत मार्चमा बुबाको आँखामै हेरेर भनेका थिए, ‘अनि क्यानडा गएर मास्टर्स नि पढ्छु, पैसा नि कमाउँछु ।’ २३ वर्षीय छोरोले ढुक्कका साथबोलेको देखेर अधिकारी दंगै परेका थिए । फिलिपिन्समा पढ्दै गरेका निखिलतीनहप्ते छुट्टीमा घर आएकाथिए । छुट्टी सकियो । फर्किनुपर्ने भयो । ‘गएँ है,’ उनी बाटो लागे । आमा र बुबाले परसम्म उनी हिँडेको हेरिरहे, छोरो गयो ।

‘सधैंका लागि पो गएछ,’ सोमबार अपराह्न अधिकारी एक्कासि भक्कानिए । थुकनिल्न खोजे । सकेनन् । बोल्न खोजे, शब्द निक्लेन । उनी एकोहोरिए । आँसुतरर्र चुहियो । पुछे । ‘के गर्नु ?’ बोले, ‘सोचेजस्तो नहुने रैछ ।’

हुँदो हो त न निखिल साथीसँग रमाइलो नगर्दै बेपत्ता हुन्थे न त उनका परिवारर साथीभाइ शोकाकुल बन्थे । हुने हार दैव नटार भनेझैं फिलिपिन्सको क्लार्कपि|mपोर्ट जोन नजिकैको हाई-वेमा शनिबार बिहान भएको कार दुर्घटनामा निखिलकोज्यान गयो, उनीसँगै रहेका अरू चार नेपाली विवेक बराल, राजिभ रिमाल, मिलनन्योपाने र अरुण बस्नेतसहित सात सहपाठीहरू घाइते भए । घाइतेमध्येका एकफिलिपिनोबाहेक अरूको अवस्था खतरामुक्त रहेको सान फर्नान्डोस्थित माउन्टकर्मेल मेडिकल सेन्टरले जनाएको छ ।

सानैदेखि एरोनेटिक्स इन्जिनियरिङ पढ्ने सपना साँधेका निखिल एयर स्पेसइन्जिनियरिङ पढ्न नक्सालस्थित नेफिल एजुकेसनल कन्सल्टेन्सी मार्फत फिलिपिन्सको ठूलो मध्येको एक एयर लिंक इन्टरनेसनल एभिएसन कलेजमा भर्ना भएका थिए, साढे तीन वर्ष पहिले । पढाइमा अब्बल उनलाई कलेजका सिनियर, जुनियर रअध्यापकहरूले राम्रैसँग चिन्न थाले । ‘दाजु भन्थे,’ विवेकले फेसबुकच्याटबाट कान्तिपुरलाई भने, ‘सबैले माया गर्थे ।’ हँसिला निखिल जसै स्थानीय परिवेशमा घुलमिल हुँदै गए, उत्तिकै नेपालबाट पढ्न जानेहरूलाई सजिलो हुँदैगयो । ‘कलेजमा केही पर्‍यो कि सीधै दाजुलाई भेट्न गइन्थ्यो,’ विवेकले भने । इन्जिनियरिङ अन्तिम सेमेस्टर पुगेका उनी एयर स्पेस डिपार्टमेन्टका सभापतिमा पनि चुनिए ।

कलेजका दिनहरू सकिनै लाग्दा निखिल र सहपाठीले रमाइलो गर्ने योजना बुने ।गएको शनिबार, पूर्वयोजना मुताबिक दुई फिलिपिनो सहपाठीको जन्म दिन पारेररम्ने निधो गरे । मनिलास्थित माकाटी सिटीको एउटा घरमा कोठा लिई बसेकाउनीहरू जम्बालेसको बीचमा गएर रमाइलो गर्ने भए ।

जम्बालेसमा जन्म दिन परेको साथीको परिवारको रिसोर्ट पनि भएकाले सजिलोपर्ने उनीहरूलाई लाग्यो । शुक्रबार राति विवेकको कोठामा बसेर योजना बनाए ।

बिहानै जन्म दिन परेको साथीले कार हाँक्दै उनीहरूलाई ‘रिसिभ’ गर्न आयो ।हुँइक्यायो । आधा घन्टाजति हुँइकिएपछि उनीहरू खाजा खान झरे । भुटेकोकुखुराको मासु र स्प्राइट खाए । फेरि हुँइकिए । ‘अलिक विस्तारै,’ निखिलचिच्याएका मात्रै के थिए, गाडी गएर भित्तामा बजारियो । सिट बेल्ट नलगाएकानिखिल झ्यालबाट उछिट्टिए । निखिल र दुई फिलिपिनोबाहेक गाडीमा सवार अरूपाँचको होस खुल्लै थियो । ‘म दौडदै दाजु -निखिल) निर पुगें,’ विवेकलेसम्भिए, ‘रगत ह्वालह्वाल्ती बगिरहेको थियो, म अत्तालिएँ ।’ उनलाई पनि चोट तलागेकै थियो तर निखिलको ‘हालत’ ले आफ्नो चोट ढिसमिस भयो । ‘बरु अब केगर्ने होला भन्ने चिन्ताले सतायो ।’ परदेशको ठाउँ । नेपालमै त यस्तादुर्घटना हुँदा के गर्ने भन्ने ज्ञान नभएकालाई त्यो अपरिचित हाई-वेमा पर्नुआपत पर्‍यो । जसोतसो एम्बुलेन्स बोलाए र हस्पिटल पुर्‍याए । अनि निखिलको घरमा फोन गरे, ‘अंकल हामी दुर्घटनामा पर्‍यौं, दाजुलाई हस्पिटल ल्याइसक्यौं, उपचार हुँदैछ ।’ विवेकले यत्ति भने र फोन राखे । बुबालाई बडो चिन्ता लाग्न थाल्यो । हत्त न पत्त काठमाडौं दौडिए । गाडीचढेर बीच बाटोमा आइपुगेका मात्रै के थिए फेरि विवेकको फोन आयो, ‘अंकल ।’ उनी बोलेनन् । ‘के भयो हँ ?’ अधिकारीले आत्तिएको स्वरमा सोधे । ‘दाजु बित्नुभयो ।’ फोन काटियो । अधिकारीलाई सपना हो कि विपनाझैं लाग्यो । ‘अनिकेही सोच्नै सकिनँ,’ हुँइकिइरहेको गाडीबाट उनले बाहिर हेरे, पूरै चकमन्नलाग्यो । एकछिन अघि नीलो देखिएको आकाश ‘कालो भयो’ । सकियो सपना !

उता फिलिपिन्समा रहेका विवेकले ‘दाजु’ गुमाउनुको पीडामा आँसु बगाउने समय पाएनन् । उनलाई पुलिस रिपोर्टका लागि दौडनु पर्‍यो । स्थानीयले निकै दुःखदिए । ‘दुर्घटना भएको हाई-वेबाट रिपोर्ट नै पठाएका रैनछन्,’ सुनाए, ‘अनिनिरीक्षण गर्ने टोलीले घटना पुष्टि गर्न धेरै समय लगाए ।’ जसोतसो प्रक्रियापूरा गरे र मृत शरीरलाई मनिलाको मुर्दाघरमा लगियो । विदेशमा मृत्युभएकालाई नेपाल सरकारले स्वीकृति दिएपछि मात्रै जलाउन पाइन्छ । फिलिपिन्समा दूतावास छैन, महावाणिज्य दूतमार्फत मलेसियन दूतावास हुँदै प्रक्रिया अघि बढाउँदा सोमबार पनि लास नेपाल आउन पाएन ।

‘अहिले भर्खर यहाँ लेटर बनाइदिए,’ सोमबार अपराह्न अधिकारीले कान्तिपुरसितभने । आज -मंगलबार) उनको कलेज खुल्ने छ । दिनभरि उनको पार्थिव शरीरलाई कलेजप्रांगणमा राखिने विवेकले जानकारी दिए । ‘बुधबार नेपाल लान्छन्,’ उनले थपे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024