कामदार साउदी नपठाउने निर्णय

11 January, 2012

स्वास्थ्य परीक्षण शुल्कवृद्धि- 

साउदी अरब जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएको विरोधमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी कामदार नपठाउने निर्णय गरेको छ। संघको मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो।

कामदारको स्वास्थ्य परीक्षण जिम्मा पाएको गाम्का नेपालले केही दिनअघि परीक्षण शुल्क ४ हजार रुपैयाँ पुर्‍याएको थियो। ‘गाम्काले गरिरहेको एकाधिकारको विरोधमा पहिलो चरणमा सरकारलाई दबाब दिने निर्णय भएको छ,’ संघका महासचिव कुमुद खनालले नागरिकसँग भने, ‘सरकारले शुल्कवृद्धि फिर्तामा सहयोग नगरे कामदार पठाउन रोक्ने छौं।’

उनले पहिलो चरणमा कामदारलाई स्वास्थ्य परीक्षणका लागि नपठाउने बताउँदै शुल्कवृद्धि फिर्ता नभए कामदार पठाउन रोक्ने जानकारी दिए। संघले बुधबार र बिहीबार श्रम तथा यातायात मन्त्रालय, स्वास्थ्य मन्त्रालय र वैदेशिक रोजगार विभागमा दबाब दिने जनाएको छ। साउदीमा वार्षिक १ लाख कामदारको माग अन्तिम स्वीकृतिका लागि आउँछ। 

यसअघि साउदी जाने कामदारले ३ हजार २ सय रुपैयाँमात्र तिर्नुपर्थ्यो। गल्फ सहयोग परिषद (जिसीसी) बाट मान्यता प्राप्त मेडिकल सेन्टर एसोसिएसन (गाम्का) मा १२ मेडिकल सेन्टर छन्। गाम्काले नेपाली कानुन उल्लंघन गर्दै आफूखुसी स्वास्थ्य शुल्क तोकिरहे पनि सरकारी निकायले कुनै कारबाही गर्न नसकेको खनालले बताए। 

वैदेशिक रोजगार ऐन २०६४ मा विदेश जाने कामदारको स्वास्थ्य शुल्क २ हजारमात्र लिन पाइने प्रावधान छ। साउदी, ओमान र बहराइन जाने नेपाली कामदारले १२ मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गर्नुपर्छ। गाम्काबाट मान्यता नपाएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गरेकाको भिसा लाग्दैन। 

‘गाम्काले कामदारलाई शोषण गरिरहेका छन्। तर सरकारी निकायले केही गर्न सकेको छैन,’ साउदी कामदार पठाउने एस इम्प्लोयमेन्ट ब्युरोका सञ्चालक तुलसी कापरीले भने, ‘स्वास्थ्य परीक्षण गर्ने कामदारलाई रसिदसमेत दिँदैनन्।’ उनका अनुसार यी मेडिकल सेन्टरले राज्यलाई समेत राजस्व तिरेका छैनन्। 

‘कामदारलाई स्वास्थ्य परीक्षणको कुनै रसिद पनि दिँदैनन्। कुन स्वास्थ्य परीक्षण भयो र कति रकम राखियो भन्ने जानकारीसमेत कामदारले पाउँदैनन्,’ उनले भने, ‘यी मेडिकल सेन्टरले राज्यका निकायलाई चुनौती दिएर गैरकानुनी काम गरिरहेका छन्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024