कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई किशोरीको बाँकेको नरैनापुरबाट सशस्त्र प्रहरीले उद्धार गरेको छ। भारत लैजाँदै गर्दा १६ वर्षका दुई किशोरीलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो। किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुईजनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार साँझ ७ः५० बजे नरैनापुर गाउँपालिका– १ स्थित सुइया क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी कटकुइयाबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको कमान्डमा खटिएको सातजनाको टोलीले विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको रा.१ह ३७३० नम्बरको अटो रिक्सामा दुई किशोरीलाई फेला पारेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ। उद्धार गरिएका किशोरीमा बर्दियाको बारबर्दिया नगरपालिका– २ की १६ वर्षीया सन्जु थारू र ठाकुरबाबा नगरपालिका– ८ की १६ वर्षीया निर्जला चौधरी रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई कामको प्रलोभन देखाएर भारत लैजान लागिएको खुलेको छ। उनीहरूलाई भारत पुर्याएर बेच्ने उद्देश्य रहेको अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्र पार गराउन उनीहरूलाई भारतको श्रावस्ती जिल्लास्थित चौधरी गाउँमा रहेको मामाघर जान लागेको बताउन लगाइएको प्रारम्भिक विवरणबाट खुलेको छ। तर, किशोरीहरूको गतिविधि र उनीहरूले दिएको विवरण शंकास्पद देखिएपछि थप सोधपुछ तथा जाँच गरिएको सशस्त्र प्रहरी निरीक्षक शर्माले बताए। त्यस क्रममा उनीहरूलाई भारत लैजान खोजिएको आशंका पुष्टि भएपछि उद्धार गरिएको उनले बताए।
किशोरीलाई लिन आएका व्यक्तिहरूमाथि समेत निगरानी बढाइएको थियो। सोही क्रममा बिओपी प्रमुख शर्मासहित सुइया नाकामा खटिएको टोलीले किशोरीलाई लिन आएका दुईजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका– ३, कालाफाँटाका ३० वर्षीय यार मोहम्मद बेहना र भारतको उत्तर प्रदेश, श्रावस्तीका ३३ वर्षीय हनुमानप्रसाद महन्त रहेका छन्। उनीहरूको साथबाट रा१ह ३७३० नम्बरको अटोरिक्सा, युपी ३९०७ नम्बरको भारतीय मोटरसाइकल र चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका दुवै किशोरीलाई संरक्षण तथा आवश्यक समन्वयका लागि इलाका प्रहरी कार्यालय सुइयाका प्रहरी सहायक निरीक्षक लोकबहादुर मल्लको रोहवरमा पिआरसी नेपाल, सुइयाकी प्रतिनिधि अन्नपूर्ण मिश्रको जिम्मा लगाइएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।