कम्बोडिया सरकारले भिसा अवधि नाघेर पनि बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो । दूतावासले कम्बोडियामा भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ।
दूतावासले बिहीबार सूचना जारी गर्दै विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि ‘वन वे ट्राभल डकुमेन्ट’ तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ।
दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई ‘वन वे ट्राभल डकुमेन्ट’ उपलब्ध गराएको हो ।
एक महिनाको अवधिभित्र स्वदेश नफर्किने विदेशी नागरिकमाथि कम्बोडियाले लागू गरेको नयाँ कानुनी व्यवस्थाअनुसार पक्राउ, जरिवाना र कैद सजायसमेत हुन सक्ने दुतावासले जनाएको छ।
दूतावासले जरिवाना तथा शुल्क मिनाहा भएका व्यक्तिलाई टिकट व्यवस्था गरेपछि सम्बन्धित विवरण तत्काल कम्बोडियाको अध्यागमन विभागमा पठाउन पनि अनुरोध गरेको छ। साथै, कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएकाले कनेक्टेड फ्लाइटको सुनिश्चितता गरेर मात्रै टिकट खरिद गर्न सचेत गराइएको छ।