कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई शुक्रबार (आज)सम्ममा मुलुक छाड्न आदेश दिएको छ । नेपाली नागरिकका लागि जारी गरेको यो आठौँ अर्थात् अन्तिम आदेश हो ।
आदेश पालना नगर्ने कसुरदारलाई कसुरको मात्रा हेरी दुई वर्षदेखि आजन्म कैद सजाय र एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलरसम्म जरिवाना हुने कम्बोडियाले जनाएको छ । यसअघि सातपटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्यान्डस्थित नेपाली दूतावासको अनुरोधपछि अन्तिमपटक भनेर शुक्रबारसम्मका लागि अन्तिम म्याद तोकेको थियो ।
अब पनि देश नछाड्ने र गैरकानुनी धन्दामा संलग्न हुने नेपाली नागरिकलाई कानुनअनुसार कारबाही गर्ने कम्बोडियन सरकारको तयारी रहेको नेपालका लागि थाइल्यान्डस्थित राजदूत धनबहादुर वलीले बताए । ‘कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न शुक्रबारसम्मको समय दिएको छ । हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिमपटकको समय हो । अब पनि मुलुक नछाडी गैरकानुनी धन्दामा संलग्न हुनेलाई उसले कसुरको मात्रा हेरी दुई वर्षदेखि आजन्म कैद सजाय र एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलरसम्म जरिवाना हुने भनेको छ,’ उनले भने ।
थाइल्यान्डस्थित दूतावासका अनुसार स्क्यामसँग सम्बन्धित अपराध नियन्त्रण गर्न कम्बोडियन सरकारले गत वैशाखबाट मात्रै नयाँ कानुन कार्यान्वयनमा ल्याएको छ । जसमा कडा सजायको व्यवस्था छ । कम्बोडिया पुगेका अधिकांश नेपाली स्क्याममा संलग्न रहेको पाइएकाले उक्त कानुनको फन्दामा उनीहरू पर्ने देखिन्छ ।
कार्यान्वयनमा ल्याइएको नयाँ कानुनले उनीहरू प्रभावित हुने देखिएपछि नेपाली दूतावासले तथ्यांक संकलन गर्दा ६०२ नेपाली त्यहाँ रहेको खुलेको थियो । लगत्तै, दूतावासले उनीहरूलाई स्वदेश फिर्ता ल्याउन पहल थालेको थियो । त्यसमध्ये अधिकांश फिर्ता भएकामा अझै ४० देखि ४५ नेपाली कम्बोडियामै रहेको राजदूत वलीले जानकारी दिए । ‘अधिकांश नेपाली फर्किसकेका छन् । अझै पनि ४० देखि ५० जनासम्म त्यहाँ छन् । उनीहरूलाई पनि फर्काउने कोसिस भइरहेको छ,’ उनले भने ।
केही वर्षयता नेपालीलाई कल सेन्टरमा काम लगाउने उद्देश्यले तस्करले कम्बोडिया पुर्याउने गरेको छ । प्रतिव्यक्ति ६ लाखसम्म असुलेर त्यहाँ पुर्याई बँधुवा मजदुरका रूपमा काममा लगाइएको खुलेपछि दूतावास र प्रहरीको सहयोगमा उद्धार गरिँदै आइएको छ ।
दूतावासका अनुसार कम्बोडियाबाट मात्रै पछिल्लो आर्थिक वर्षमा ५७२ नेपालीको उद्धार गरिएको छ । उनीहरू सबै कुनै न कुनै अपराधमा संलग्न थिए । त्यसमध्ये अधिकांश अनलाइन स्क्याममा संलग्न थिए । उनीहरूलाई मानव तस्करले ‘डंकी’ रुट प्रयोग गर्दै कम्बोडिया पुर्याएर कल सेन्टरमा ‘साइबर दास’का रूपमा राखिएको थियो ।
कम्बोडियामा बसेर कल सेन्टर सञ्चालन गर्नेहरू भने सबै चिनियाँ नागरिक हुन् । उनीहरूकै निर्देशनपछि नेपाली युवालाई तस्करी गरेर कम्बोडिया पुर्याइएको थियो । आकर्षक कमाई हुने प्रलोभनमा कम्बोडिया पुगेका युवा बन्धकसमेत बनाइएका थिए । शारीरिक तथा मानसिक यातनापछि मात्रै उनीहरू उद्धारका लागि दूतावासको सम्पर्कमा पुगेका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो पाँच वर्षमा कम्बोडियाबाट मात्रै उद्धार भएका २४ नेपाली ब्युरोको सम्पर्कमा आएका छन् । उनीहरूको जाहेरीपछि १६ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत मुद्दा चलेको छ ।
पछिल्लो वर्ष मानव तस्करीको नयाँ गन्तव्य कम्बोडियासहित म्यानमार, थाइल्यान्ड र लाओस बनेको छ । विशेष गरी नेपाली युवालाई साइबर दास बनाउने उद्देश्यले ती मुलुक लैजाने गरेको देखिएको छ । त्यसरी जाने ३१३ नेपालीलाई त्यहाँको सरकारले नेपाल डिपोर्ट गरिसकेको छ । उनीहरूमध्ये १०४ जनाले ब्युरोमा जाहेरीसमेत दिएका छन् । सोही जाहेरीका आधारमा ब्युरोले हालसम्म ३४ मुद्दा दर्ता गरिसकेको छ ।
थाइल्यान्डस्थित राजदूत धनबहादुर वली भन्छन्–अधिकांश नेपाली फर्किसकेका छन्, अझै पनि ४० देखि ५० जनासम्म त्यहाँ छन्
तस्करले प्रतिव्यक्ति ६ लाखसम्म असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याई अवैध कल सेन्टरमा बँधुवा मजदुरका रूपमा काममा लगाउँदै आएका छन् । कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न शुक्रबारसम्मको समय दिएको छ । हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिमपटकको समय हो । अब पनि मुलुक नछाडी गैरकानुनी धन्दामा संलग्न हुनेलाई उसले कसुरको मात्रा हेरी दुई वर्षदेखि आजन्म कैद सजाय र एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलरसम्म जरिवाना हुने भनेको छ । अधिकांश नेपाली फर्किसकेका छन् । अझै पनि ४० देखि ५० जनासम्म त्यहाँ छन् । उनीहरूलाई पनि फर्काउने कोसिस भइरहेको छ ।