कतार दूतावासले भन्यो: ठूलो स्वरमा नबोल्नोस्, छिमेकीको गुनासो आयो

13 November, 2025

कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपाली नागरिकलाई कार्यालय परिसरमा ठूलो स्वरमा कुरा नगर्न तथा अनावश्यक भिडभाड सिर्जना नगर्न अनुरोध गरेको छ।

दूतावास वरपरका भवनमा बसोबास गर्नेहरूले असहजता महसुस भएको गुनासो बारम्बार गरेपछि दूतावासले बुधबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।

‘यस राजदूतावासको परिसर बाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला हुने, खुला स्थानमा लामो समय सवारीसाधन पार्क गर्ने, ठूलो स्वरमा कुराकानी र हो–हल्ला गर्ने कार्यले छिमेकीहरूलाई असहजता परेको’ भन्दै दूतावासले यस्तो व्यवहार दोहोर्याउन नहुने चेतावनी दिएको छ।

छिमेकीहरूको गुनासोपछि दूतावासले सेवाग्राहीहरूलाई कार्यालय समयअनुसार मात्र सेवा लिन आउन आग्रह गरेको छ। यदि अत्यावश्यक कारणले चाँडै आउनु परे बिहान ८ बजेपछि मात्र आइपुग्न अनुरोध गरिएको छ।

‘सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित हुनुपर्ने र कार्यालय आसपास अनावश्यक रूपमा लामो समय बस्ने कार्य नगर्न’ दूतावासले सूचनामार्फत सबैलाई जानकारी गराएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024