कतारमा राहदानी पाउन कठिन

21 May, 2014

होम कार्की

महोत्तरीका राम सुलोचन मण्डलले मेसिन रिडेवल पासपोर्ट -एमआरपी) बनाउन आवेदन दिएको एक वर्ष पुगिसक्यो । यसबीचमा उनले तीन पटक आवेदन दिइसके । ‘चार-चार महिनाको बीचमा बुझ्न आउँछु, तर बनेकै हुँदैन,’ उनले भने ।

मण्डलको राहदानी नबनेकोबारे स्पष्ट जवाफ दूतावाससँग छैन । तेहथुमका पुण्य प्रसाद रिमालले पनि पहिलो पटक गत सेटेम्बर १ तारिख आवेदन दिएका थिए । ‘राहदानी बनेर नआएपछि दोस्रो पटक गत जनवरी १२ मा आवेदन दिएँ,’ रिमालले कान्तिपुरलाई भने, ‘दूतावासले र्फम बिगि्रएकाले नबनेको हुन सक्ने भन्दै फेरि आवेदन दिन भन्यो ।’

कतारमा समयमा राहदानी नआउँदा नेपाली कामदार निकै पीडित छन् । ‘दस महिनादेखि राहदानी बनाउने दौडमा छु । तीन पटक आवेदन दिइसकेको छु,’ चितवनका जोगबहादुर दरीले भने, ‘राहदानी नपाएपछि भिसा लगाउन पाएको छैन ।’ सामान्यतया एमआरपीको आवेदन दिनेलाई दूतावासले ५ महिनापछि सम्पर्क राख्न भन्ने गरेको छ । ‘पाँच महिनापछि आउँदा राहदानी आइपुग्दैन । फेरि आवेदन दिइन्छ,’ रिमालले भने, ‘जिम्मेवार व्यक्तिलाई नआउनुको कारण सोध्दा चित्तबुझ्दो जवाफ आउँदैन ।’

दूतावासले पुनः आवेदन दिनेसँग पनि दस्तुर लिने गरेको छ । यसका लागि करिब तीन सय रियाल -आठ हजार रुपैयाँ) लाग्छ । ‘हामीजस्ता सामान्य मजदुरका लागि तीन सय रियाल आधा महिनाको तलब हो,’ दरीले भने, ‘पटकपटक आउनुपर्दा हामीलाई ठूलो आर्थिक क्षति पुगेको छ ।’

समयमा राहदानी नआएपछि भिसा लगाउन नपाएकाले कामदारहरूले परिचयपत्र बनाउन पाएका छैनन् । दूतावासले आपत परेकालाई थप ८० रियाल -करिब दुई हजार रुपैयाँ) बुझाएपछि ६ महिने हस्तलिखित राहदानी दिने गरेको छ ।

कामदारलाई दूतावासमा आवेदन बुझाउनै हम्मे पर्छ । उनीहरूले हस्त लिखित राहदानी पेस गरेरमात्रै पुग्दैन, नागरिकता नै देखाउनुपर्छ । सक्कल नागरिकता पेस गर्न नसक्दा आवेदन दिन वञ्चित हुनेहरू पनि छन् । त्यस्ता कामदार ट्राभल डकुमेन्ट -स्वदेश फिर्न पाउने पत्र) बोकेर रोजगार गुमाएर स्वदेश फिर्न बाध्य छन् । ‘विदेश आउँदा नागरिकता कसले ल्याउँछ र,’ हुम्ला राम बुढाले भने, ‘साथमा नागरिकता भएन । गाउँबाट ल्याइदिने कोही भएन । एमआरपी नबन्ने भएपछि स्वदेश फिर्नु पर्‍यो ।’

राहदानी बनाउन आउनेहरूले दूतावासले सहजीकरण गर्नुको सट्टा झन् कडा नीति अख्तियार गरेको आरोप लगाए । ‘यो उखरमाउलो गर्मी सहँदै १० बजे दूतावास पुग्दा टोकन बन्द भइसकेछ,’ करिब सय किलोमिटर टाढाबाट दोहाको उम्सेदबाट आइपुगेका धादिङका बाबुराम कार्कीले भने, ‘दूतावास आइपुग्दा ट्याक्सी भाडा तिर्दामात्रै दुई दिनको तलब सिधिन्छ । कम्पनीबाट बल्लतल्ल छुट्टी दिन्छ । त्यसरी मिलाएर आउँदा टोकन छैन भन्दै फर्काइदिन्छ ।’

कार्यवाहक राजदूत गणेश ढकालले चापका कारण टोकन व्यवस्था गर्नुपरेको बताए । ‘राहदानी लिनेको चाप दिनहुँ बढिरहेको छ । न्यून कर्मचारीले चाप थेग्न नसक्ने भएकाले दिनमा चार सय जनासम्मलाई टोकन दिने गरेका छौं,’ उनले भने । दूतावास भवनमा सेवाग्राहीको चापाचाप हुँदा दिनहँु आवेदकहरू बेहोस हुने गरेका छन् । ‘अहिलेको भौतिक संरचनाले सेवा दिनसमेत कठिनाइ छ,’ ढकालले भने, ‘कमजोर भौतिक संरचनाको विषयमा मन्त्रालयलाई जानकारी भइसकेको छ ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024