कतारका नेपालीको सुरक्षाप्रति प्रधानमन्त्रीको चासो

9 March, 2026

प्रधानमन्त्री सुशीला कार्कीले कतारमा रहेका नेपालीको सुरक्षालाई लिएर चासो व्यक्त गर्दै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो अल–थानीलाई टेलिफोन गरी मध्यपूर्वी क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता गरेकी थिइन् । अमेरिका–इजरायल र इरान युद्धका कारण कतारसहित मध्यपूर्वमा दिनहुँ ड्रोन आक्रमण भइरहेको छ । जसका कारण कतारले समेत आर्थिक क्षति व्यहोरेको छ भने त्यहाँ कार्यरत चार लाख १४ हजार ८९ नेपाली श्रमिकको सुरक्षा चिन्ता पनि बढेको छ ।

ड्रोन र मिसाइल हमला भइरहेको कतारमा नेपाली सुरक्षित रहेको र कतारका नागरिकसरह आप्रवासी कामदारलाई त्यहाँको सरकारले सुरक्षा प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री कार्कीले कतारमा रहेका नेपाली नागरिकलाई सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा टेलिफोन वार्ताबाट खुसी व्यक्त गरेको सचिवालयले जनाएको छ ।

‘नेपाली नागरिक कतारमा बसोवास गर्दै काम गरिरहेका छन् । उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ,’ टेलिफोन वार्तामा प्रधानमन्त्री कार्कीले समकक्षी अल–थानीलाई भनेको कुरा उद्धृत गर्दै सचिवालयले पठाएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईं तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।’

प्रधानमन्त्री कार्कीले मध्यपूर्वको विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको पनि जानकारी गराएकी थिइन् । उनले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा नेपालको जोड रहेको बताएकी थिइन् । कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने पनि टेलिफोन वार्तामा बताएकी थिइन् ।

उनले दुई मुलुकबिचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरिन् । टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको परिस्थितिप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरेकी थिइन् । साथै, उहाँले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरेको सचिवालयले जनाएको छ ।

टेलिफोन संवादका क्रममा कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री अल–थानीले नेपालसँगको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको प्रशंसा गर्दै कतारमा रहेका नेपाली नागरिकले ठुलो योगदान गरेको चर्चा गरेका थिए । नेपाली श्रमिकलाई वर्तमान परिस्थितिमा कतारी नागरिकसरह सुरक्षा र संरक्षण दिइरहेको पनि उनले जानकारी गराएका थिए । प्रधानमन्त्री अल–थानीले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सार्वभौमिकता र भूमिको सुरक्षाका वा आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी दिएका थिए ।

कतार सधैँ शान्तिको च्याम्पियन रहेकाले यस किसिमका क्रियाकलापको विरोधी रहेको उनको धारणा थियो । प्रधानमन्त्री कल–थानीले कठिन घडीमा नेपालले प्रदर्शन गरेको मित्रता र ऐक्यबद्धताप्रति कृतज्ञतासमेत व्यक्त गर्दै अहिलेको तनावपूर्ण परिस्थिति चाँडै अन्त्य हुने अपेक्षा राखेको र दुई मुलुकबिचको सम्बन्धलाई थप सुदृढ र विस्तारित बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

वैदेशिक रोजगारमा जाने नेपालीका लागि कतार तेस्रो आकर्षक श्रम गन्तव्य मुलुकका रूपमा परिचित छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार माघ महिनामा मात्रै ११ हजार पाँच सय ८० नेपाली युवा रोजगारीका लागि कतार गएका छन् । गत आर्थिक वर्ष ०८१/८२ मा कुल एक लाख ४० हजार सात सय ९२ युवाले श्रम स्वीकृति लिएर कतारमा रोजगारीका लागि गएको विभागले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026