एजेन्टको जालमा बेपत्ता भए विशेष

14 August, 2026

Ajavi Poudyal

‘मेरो छोरा अरू जस्तो खराब थिएन, निकै असल थियो। एउटै छोरा बुढेसकालको सहारा होला भनेर कुनै कुरामा कमी गरेनौं। विदेश जान्छु भन्यो, उसले मागे जति पैसा पठाइदिएँ। यही गल्ती भयो। उसलाई विदेश जान नदिएको भए मैले छोरा गुमाउनुपर्ने थिएन, आज म यसरी एक्लो हुने थिइनँ।’

बोल्दाबोल्दै मनकुमारी चाम्लिङका आँखा रसाए। उनले टाउको झुकाएर आँसु पुछिन् र हिक्क–हिक्क गर्दै छोराको तस्बिरतर्फ हेरिरहिन्। केही बेर तस्बिर नियालिरहँदा उनका आँखाले सायद भनिरहेका थिए— ‘बाबु कहाँ छौं ? छिटो फर्केर सम्पर्कमा आऊ।’
२०७४ साल मंसिर ५ गते राति ९ बजे, त्यतिबेला इजरायलमा रहेकी मनकुमारी चाम्लिङलाई छोरा विशेष मगरले म्यासेज गरे

म जान लागेको ममी।’
मनकुमारीले सोधिन्, ‘ए पैसा दिनुभयो ?’
विशेषले फेरि लेखे, ‘अँ, एक सय डलर दिनुभयो।’
आमाले फेरि सोधिन्, ‘ए ल ल, हिँडेको नानी ?’
विशेषले क्याफेमा बसेर कफी खाँदै गरेको फोटो पठाए। अनि लेखे, ‘हिँडेको अब।’

आमा–छोराको यही कुराकानी नै अन्तिम बन्यो। त्यसलगत्तै अफलाइन गएको छोराको फेसबुक अहिलेसम्म अनलाइन भएको छैन। फोन, ह्वाट्सएप र म्यासेन्जरका सबै आईडीहरू निष्क्रिय छन्। मनकुमारी हरेक दिन छोराको फोटो हेर्छिन्, कहीँ–कतैबाट खबर पठाएको छ कि भनेर निकै चनाखो हुन्छिन्। तर न त छोराको फोन आयो, न कुनै खबर, न त जिउँदो वा मरेको कुनै प्रमाण नै। छोरा खोज्दै मनकुमारी भौंतारिएको निकै भयो। उनका छोरा फ्रान्स जाने भन्दै २०७४ साउनमा टर्की गएका थिए। मनकुमारीका अनुसार टर्की जाँदा उनी जम्मा २१ वर्षका थिए। मोरङ बस्ने राज लिम्बूलाई ६ लाख रुपैयाँ बुझाएर उनी टर्की गएका थिए।

काठमाडौंमा बसेर पढ्दै गरेका उनलाई टर्कीमा राम्रो कमाइ हुन्छ भनेर भारत लगेर भिसा दिलाई टर्की पठाइएको थियो। त्यहाँ तीन महिनासम्म उनले कुनै काम पाएनन्। त्यसपछि त्यहाँबाट फ्रान्स जान सजिलो हुन्छ भन्दै इटालीको बाटो हिँडेका थिए। छोराले फ्रान्स जान ६ हजार डलर लाग्छ भनेपछि मनकुमारीले मोरङ उर्लाबारी–४ का एजेन्ट राज लिम्बूको नाममा ६ हजार डलर पठाएकी थिइन्। उनी भन्छिन्, ‘उसलाई इटाली पठाइएको हो कि
होइन ? कसले कता लग्यो ?’ इटालीको भिसा र टिकटबारे भने आफूलाई केही थाहा नभएको उनी बताउँछिन्। ‘मेरो छोरा एकदम असल थियो। कतै अप्ठ्यारोमा पर्‍यो कि ? मलाई त ऊ जिउँदै छ जस्तो लाग्छ। खोज्नका लागि कता–कता गएँ तर न त सास पाइयो, न त लास नै।’

छोरा खोजिदिन भन्दै उनले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पनि निवेदन दिएकी थिइन्। तर अहिलेसम्म केही पत्तो लागेको छैन। ब्युरोबाट एक–दुई पटक फोन त आयो, तर न त विदेश लैजाने एजेन्ट पक्राउ परे, न त छोराको कुनै खबर नै पाए। टर्कीबाट हराएको छोरा खोज्न उनले त्यहाँका संघसंस्थालाई पनि आग्रह गरिन्, तर कुनै पत्तो लागेन। बिहीबार अन्नपूर्ण पोस्ट्को कार्यालयमा आएकी मनकुमारीलाई कसैले मिडियामा गएपछि छोरा भेटिन्छ भनेर भनेको रहेछ। यही आसमा उनी निकै थकित अवस्थामा अन्नपूर्ण पोस्ट्को कार्यालय पुगेकी थिइन्।

कुराकानीकै क्रममा मनकुमारीले भनिन्, ‘ऊ विदेश जाने बेला म इजरायल थिएँ। बुवासँग ऊ मोरङमै बस्थ्यो। उसैले एजेन्ट राज लिम्बूलाई भेटेको हो। राजका पार्टनर सुरज भन्ने फूलकुमार लिम्बू टर्कीमा बसेर नेपालीहरूलाई गैरकानुनी रूपमा टर्की पु¥याई ठगी गर्दै आएका रहेछन्। उनीहरूको विवरणसहित प्रहरीमा उजुरी दिएका छौं। तर न उनीहरू पक्राउ परे, न त कुनै जानकारी नै आयो। उसलाई फ्रान्स पठाउने सुरज र राजलाई पक्राउ गरेर सोधपुछ गर्न पाए त विशेष कहाँ गयो र के भयो भन्ने कुरा उनीहरूले बताउँथे नि !’

गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका संस्थापक अध्यक्ष उज्ज्वलकुमार घिसिङले विशेष टर्कीमा नभएको बताए। पछिल्लो समय भिजिट भिसामा टर्की पुर्‍याएर बिचल्ली पार्ने गिरोह निकै सक्रिय रहेको बताउँदै उनले विशेषको खोजीका लागि आफूहरू टर्कीमा निकै खटिएको जानकारी दिए। उनी भन्छन्, ‘कतै नभेटिएपछि जेल परे कि भन्ने आशंका थियो। तर जेलमा गएर विवरण हेर्दा पनि विशेषको पत्तो लागेन। उनलाई कसले कहाँ पुर्‍यायो, केही भन्न सकिएन।’

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरका प्रवक्ता राजन लिम्बूले मनकुमारीको निवेदन लिएर अनुसन्धान अघि बढाउने बताए। उनी भन्छन्, ‘पुरानो निवेदनको रेकर्ड यहाँ भेटिएन। हामी सम्बन्धित देशमा सम्पर्क गरेर हराएको व्यक्तिको खोजतलास गर्ने प्रयास गर्छौं।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024