सप्तरीको सुरुंगा नगरपालिका–४, कदमाहाका करिब ४२ वर्षीय मृगेन्द्रकुमार मण्डल ६ महिनादेखि साउदी अरबमा अलपत्र छन् । चारवर्षे रोजगार सम्झौता अवधि पुगेपछि उनी घर फर्किन ६ महिनाअघि रियाद एयरपोर्ट पुगेका थिए । तर, सडक दुर्घटनासम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उनलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
करिब १५ वर्षअघिको सडक दुर्घटनासम्बन्धी मुद्दामा साउदी अदालतले गरेको भनिएको फैसलाअनुसार साउदी रियाल तीन लाख ३० हजार (करिब एक करोड ३२ लाख नेपाली रुपैयाँ) जरिवाना नबुझाएकाले यात्रा प्रतिबन्ध रहेको भन्दै एयरपोर्टबाट घर फर्किन नदिइएपछि गत माघदेखि श्रीमान् अलपत्र परेको श्रीमती निलमदेवी मण्डलले गुनासो गरिन् । ‘आफ्नो जग्गा–जमिन छैन, वृद्ध सासू–ससुरा, तीन छोरी र एक छोरा गरी सातजनाको बिहान–बेलुका हातमुख जोड्न पनि मजदुरी नगरी हुँदैन,’ उनले भनिन्, ‘त्यत्रो रकम तिर्ने हैसियत नै नभएकाले तत्काल सरकार र सम्बन्धित निकायले पहल नगरिदिने हो भने श्रीमान्को मुख पनि देख्न नपाउने हो कि भन्ने चिन्ता बढेको छ ।’
सुरुंगा नगरपालिका–४ का वडाध्यक्ष देवेन्द्रप्रसाद चौधरीले गैरआवासीय नेपाली संघ साउदी अरबलाई २१ जेठमा उद्धारका लागि पहल गरिदिन पत्राचार गरेको बताए । पत्रमा करिब १५ वर्ष पुरानो सडक दुर्घटनासम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय भुक्तान गरी स्वदेश फर्किएर ६ वर्षपछि पुनः दोस्रोपल्ट साउदीमा काम गर्न पुगेका उनलाई चार वर्षको श्रम सम्झौतापछि फर्किन लाग्दा जेल काटिसकेको मुद्दामा रोकिएकाले तत्काल स्वदेश फर्किन पहल गरिदिन आग्रह गरिएको छ ।
मेसेन्जरमार्फत नयाँ पत्रिकासँगको सम्पर्कमा आएका मृगेन्द्रले घर फर्किन नपाएपछि अर्को कम्पनीमा काम गर्न खोज्दा अदालतको फैसलाको कारण देखाउँदै काम नपाउँदा दैनिक गुजारा चलाउन समस्या झेलिरहेको सुनाए । ‘साउदीको राजधानी रियाददेखि करिब आधा घण्टाको दूरीमा रहेको भित्री बजारको गल्लीमा मागेर खान बाध्य छु,’ उनले भने । सन् २०११ मा पहिलोपल्ट साउदी अरब पुगेपछि अलमकलवी कम्पनीमा मण्डलले हेभी टिपर चलाएका थिए । ठुल्ठुला अपार्टमेन्टका लागि हेभी टिपरमा मार्बल्स, टायल्स बोकेर पुर्याउने क्रममा भएको सडक दुर्घटनामा जोर्डनी नागरिकको मृत्यु भएपछि त्यही मुद्दामा झन्डै पाँच वर्ष जेल सजाय काटेको उनले बताए ।
‘जेल सजाय भुक्तान गरेपछि सन् २०१७ तिर घर आएँ,’ उनले भने, ‘त्यसपछि सन् २०२२ मा पुनः साउदी नै फर्किएर चार वर्ष हेभी टिपर चालकको काम गरेपछि घर फर्किन लाग्दा पुरानै मुद्दामा अदालतको जरिवानाको फैसला छ भन्दै एयरपोर्टबाटै फर्काइएँ ।’ अदालतबाट जरिवानाको फैसलासम्बन्धी कुनै आधिकारिक कागजात, प्रतिलिपि पनि नपाउँदा झन् अप्ठ्यारोमा परेको उनले बताए । ‘दूतावासमा पुगेर समस्याबारे सुनाउँदा राम्ररी सुन्न पनि चाहेन,’ उनले भने, ‘यो बिरानो ठाउँमा कसलाई भनौँ आफ्नो कुरा ?’
श्रीमती निलमदेवी मण्डल (पहेँलो साडीमा)को चिन्ता
बिहान–बेलुका हातमुख जोड्न त मजदुरी नगरी हुँदैन, त्यत्रो रकम कहाँबाट तिर्ने ?
आफ्नो जग्गा–जमिन छैन । वृद्ध सासू–ससुरा, तीन छोरी र एक छोरा गरी सातजनाको बिहान–बेलुका हातमुख जोड्न पनि मजदुरी नगरी हुँदैन । त्यत्रो रकम तिर्ने हैसियत नै नभएकाले तत्काल सरकार र सम्बन्धित निकायले पहल नगरिदिने हो भने श्रीमान्को मुख पनि देख्न नपाउने हो कि भन्ने चिन्ता बढेको छ ।