उपचार खर्च नतिर्दा मलेसियामा रोकिएको शव २५ दिनपछि सप्तरी ल्याइयो

5 May, 2026

Saurav Yadav

उपचार खर्च तिर्न नसक्दा मलेसियाको अस्पतालमा रोकिएको सप्तरीका मनजय सदाको शव २५ दिनपछि घर आइपुगेको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासको सहयोगमा सोमबार बिहान विष्णुपुर गाउँपालिका– ६, रामटोलका ३३ वर्षीय सदाको शव घर ल्याइएको हो।

शव घर आइपुगेपछि रामटोल शोकमा डुबेको छ। परिवारका अनुसार सोमबार नै उनको दाहसंस्कार गरिनेछ।

१० वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका सदाको तेङ्कु अम्पुआन रहिमा क्लाङ अस्पतालमा उपचारका क्रममा २६ चैतमा मृत्यु भएको थियो। अचानक पेट दुखेपछि साथीले उनलाई अस्पताल पुर्‍याएका थिए। केही दिनको उपचारपछि उनको निधन भयो।

उपचारमा लागेको करिब चार लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालले शव बुझाउन मानेको थिएन। मनजय काबेली ह्युमन रिसोर्सेज प्रालिमार्फत फ्याक्ट्री कामदारका रूपमा मलेसिया गएका थिए।

यसअघि ‘मृत्युपछि पनि मिलेन मुक्ति’ शीर्षकमा वैशाख ६ गते नयाँ पत्रिकाले यो विषयमा प्रमुख समाचार प्रकाशित गरेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024