धादिङकी मनसरा मगर वानेश्वरमा रहेको एक घरमा घरेलु कामदारका रूपमा काम गर्छिन्। बिहानै घर सरसफाइ, पुछपाछ गर्ने, खाना बनाउने, लुगा धुने तथा फूलबारीको समेत काम सकेर घर फर्कंदा ११ बज्छ। यी सबै काम गरेबापत उनले महिनाको १० हजार लिन्छिन्। हप्ताको सबै दिन काम गर्ने उनलाई घरसाहुले प्रायः बिदा दिन खोज्दैनन्।
कीर्तिपुरको एक घरमा सरसफाइको काम गर्ने उजेली सुनारले महिनाको ४ हजार मात्रै पाउँछिन्। बिहानै आएर चारतले घर सरसफाइ गर्दा एक घण्टा लाग्छ। दिनको एक घण्टा काम गरे पनि उनी हरेक दिन काममा आउनैपर्ने हुन्छ। पेप्सीकोला बस्ने भारती साह पनि महिनाको ७ हजार रुपैयाँमा घर सफा गर्ने र भाँडा माझ्ने काम गर्छिन्। हरेक दिन आउने, घर पूरै सफा गर्ने र बाटाभरि थुपारिएका भाँडा माझ्ने उनको दैनिकी। घरेलु काम गर्ने महिलाहरू घरबेटीको हेपाइमा पनि पर्ने गर्छ। कतिपय बालबालिका यौनहिंसामा समेत पर्ने गरेका छन्।
लुम्बिनी प्रदेशकी पूर्वसांसद रेखाकुमारी शर्माको घरबाट घरेलु कामदारमा राखिएको नाबालिकालाई उद्धार गरिएको थियो। २०८१ जेठमा उनको घरमा काम गर्ने १४ वर्षीया बालिकाले महानगरमा उजुरी दिएपछि घटना बाहिरिएको थियो। घरमा भनेजस्तो काम नगरेको भन्दै उनलाई कुटपिट गर्ने, फलामको रडले हान्ने भन्दै बालिकाले उजुरी दिएकी थिइन्।
यी केही उदाहरण हुन्। घरेलु श्रम गर्ने श्रमिकहरूले उचित पारि श्रमिक पाउँदैनन्। यसमाथि महिला श्रमिकहरू त झन् समस्यामा पर्ने गरेका छन्। एक त काम नै नपाउने, काम पाए पनि अति निम्न ज्यालामा काम गर्नुपर्ने बाध्यता छ। घरेलु श्रमिकहरू सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमालगायतका सुविधाबाट समेत वञ्चित छन्। घरेलु श्रमिकको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन।
घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारीका अनुसार, श्रमिकको हक अघिकारका लागि सरकारी तवरमा खासै काम हुँदैन। घरेलु श्रमिकको समस्या भयावह छ। काम गरुन्जेलमात्रै ज्याला पाउने, बिदा बसे, बिरामी भए काम पनि खोसिने, कमाइ पनि बन्द हुने प्रवृत्ति धेरै छ। उनी भन्छिन्, घरेलु श्रमिकले सबैभन्दा बढी भोग्ने समस्या भनेकै कामको स्थायित्व नहुनु हो। न त खाना, न उचित पारि श्रमिक न अन्य सुविधा यस्तो अवस्थामा घरेलु श्रमिक महिला काम गर्न बाध्य छन्। भण्डारीका अनुसार ‘काठमाडौं उपत्यकामा मात्रै करिब चार लाख घरेलु श्रमिक भएको अनुमान छ। जिफन्टले सन् २०११ मा गरेको एक अनुसन्धानमा दुई लाख घरेलु श्रमिक उपत्यकामा थिए।
सरकारले तोकेको न्यूनतम पारि श्रमिक दिने कम्पनीहरू निकै कम छन्। अलिकति व्यवस्थित व्यापारिक कम्पनीमा बिमा पनि सुरक्षित गरिएको हुन्छ। तर अधिकांश घरेलु कामदार र श्रमिकले समस्या भोग्नु परेको छ। घरेलु कामदारको रूपमा बालबालिका पनि प्रयोग भएका छन्। बेलाबेला बालिकाहरू यौनहिंसामा पनि परेका खबर बाहिरिन्छन्। घरेलु तथा गार्मेन्ट उद्योगहरूमा काम गर्ने श्रमिकको अवस्था पनि सुधारिएको छैन।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार नेपालमा निजी घर तथा संघसंस्थामा काम गर्ने घरेलु श्रमिकको आधिकारिक तथ्यांक छैन। नेपाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५०० हो। न्यूनतम पारिश्रमिक नपाएका श्रमिकको हकमा सम्बन्धित श्रम कार्यालय र प्रहरी कार्यालयमा उजुरी दिन सकिन्छ। श्रम तथा रोजगार विभागले विभिन्न प्रकारका घरेलु श्रमिकको हितमा विभिन्न कार्यक्रम ल्याएर काम गरिरहेको छ। प्रवक्ता घिमिरे भन्छन्, ‘पारिश्रमिक नपाएर, विभिन्न समस्यामा परेका कामदारको अधिकारको लागि सरकारले सधैं प्राथमिकतामा राखेर काम गर्छ। काममा लगाइसकेपछि सरकारले तोकेको न्यूनतम पारि श्रमिक पाउनु उनीहरूको अधिकार पनि त हो। यो कसैले पनि हनन् गर्न पाइँदैन।