इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई भेटेर यथार्थ बुझ्न परराष्ट्र मन्त्रालयले पहल थालेको छ । उनीसहित सात जनालाई इरानी सुरक्षाकर्मीले हर्मुज जलघाँटीभन्दा केही टाढा अर्को टापु केसनबाट पक्राउ गरेको पुष्टि भएको छ । उनीहरूमध्ये तीन जना अझै नियन्त्रणमा छन् ।
महोत्तरीको एकडराबेला–७ पुर्ख्यौली घर भएका अमृतको परिवार हाल उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटमा बस्दै आएको छ । दुबईको पानी जहाज कम्पनीमा काम गर्ने ३० वर्षीय अमृतलाई पक्राउ गर्नुको कारण र मिति अझै स्पष्ट हुन सकेको छैन । उनका सम्बन्धमा आवश्यक तथ्य बुझ्न इरानस्थित अवैतनिक महावाणिज्यदूतलाई जिम्मा दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रले प्राप्त गरेको कागजातमा उनलाई कहिले पक्राउ गरियो भन्नेबारे स्पष्ट छैन । ‘अमृतलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरी नियन्त्रणमा राखेको पुष्टि भयो, तर नियन्त्रणमा राखिनुका कारणबारे यथार्थ खुल्न सकेको छैन, पक्राउ गरिएको मितिबारे झनै अन्योल छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले कान्तिपुरसँग भने, ‘उनलाई पछिल्लो युद्धकै समयमा पक्राउ गरिएको हो वा त्योभन्दा अघि नै भन्ने विषयमा बुझ्ने प्रयास भइरहेको छ ।’ कतारस्थित नेपाली दूतावासले इरानमा रहेका अवैतनिक महावाणिज्यदूतमार्फत अमृतका विषयमा यथार्थ पत्ता लगाउने र परिवारसँग कुराकानी गराउनेतर्फ काम गरिरहेको प्रवक्ता पौडेलले बताए ।
उनका अनुसार गत २५ डिसेम्बर (१० पुस) मा ओमनको समुद्रबाट पानी जहाज छुटेको थियो । जहाजमा सात जना थिए । नियन्त्रणमा लिइएकामध्ये चार जनालाई त्यतिखेर नै छाडिएको थियो । अमृत र दुई जना भारतीय नागरिक भने अझै नियन्त्रणमा छन् । अमेरिका र इजरायलले पछिल्लो पटक २८ फेब्रुअरी (१६ फागुन) देखि इरानमाथि हमला सुरु गरेका हुन्, युद्ध अझै जारी छ ।
अमृत र दुई भारतीय नागरिकलाई केसन आइल्यान्डबाट हर्मुज क्षेत्रको अब्बास बन्दरगाहस्थित कारागारमा सारिएको छ । अमृतको रिहाइका लागि रोजगारदाता कम्पनी ब्ल्याक सी मरिन एलएलसीले इरानमा वकिल राखेर अदालतमा रिट दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित ब्ल्याक सी मरिन कम्पनीले कच्चा तेल बोक्ने ठेक्का लिँदै आएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार अमृत १९ जुलाई २०२४ मा सिम्यान पदमा श्रमस्वीकृति लिई यूएई गएको देखिन्छ । परिवारले कन्सुलर विभागमा दर्ता गरेको निवेदनअनुसार उनी कम्पनीको पानी जहाजमा दुबईबाट इरान गएका थिए । अमृतकी दिदी पूजाले केही दिनअघि ‘भ्वाइस मेसेज’ आएपछि भाइ इरानको जेलमा रहेको थाहा पाएको बताइन् ।
‘एउटा नचिनिएको नम्बरबाट ह्वाट्सएपमा भ्वाइस मेसेज आएको थियो, मेसेजमा भाइले हामीलाई इरानी सेनाले कस्टडीमा लिएको छ, अरू भारतीय पनि पक्राउ परेका छन् भनेको थियो,’ पूजाले कान्तिपुरसँग भनिन्, ‘पछि हामीले प्रयास गर्दा त्यो नम्बरमा सम्पर्क हुन सकेन ।’
पूजाका अनुसार अमृतसँग पछिल्लो पटक १२ जनवरी (२८ पुस) मा फोनमा कुराकानी भएको थियो । ‘त्यसबेला उसले म अहिले इरानमा छु, मेरो काम सकिन लाग्यो, त्यसपछि म सिधै नेपाल आउँछु भनेको थियो,’ पूजाले थपिन्, ‘तर अचानक भाइ पक्राउ परेको भ्वाइस मेसेज पाएपछि हामीले खोजी गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौं । यथाशीघ्र रिहाइका लागि पहल गरिदिन नेपाल सरकारसँग अनुरोध गर्छु ।’ परिवारले सोमबार परराष्ट्र मन्त्रालयसमक्ष निवेदन दिँदै आवश्यक छानबिन गरी छिटोभन्दा छिटो नेपाल ल्याइदिन आग्रह गरेको छ ।
छोरा अमृत इरानी सेनाको नियन्त्रणमा परेको खबरले परिवार बेचैन छ । अमृतकी दिदी पूजाका अनुसार उनी दुई वर्षअघि दुबई गएका हुन् । ७० वर्षीय बुबा गोविन्द झा गाईघाट बजारमा जुत्ता–चप्पल पसल गर्दै आएका छन् । छोरा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको खबर आएपछि उनको पसल पाँच दिनदेखि बन्द छ । छोराको उद्धारका लागि पहल गरिदिन सरकारसँग माग गर्दै परिवारका सबै सदस्य यतिबेला काठमाडौंमा छन् ।
अमृतकी आमा र दिदी खबर सुनेलगत्तै काठमाडौं पुगेका थिए । मुटुसम्बन्धी समस्या रहेका गोविन्दलाई छोरा नियन्त्रणमा परेको खबर ढिलो गरी मात्रै सुनाइएको थियो । ‘स्वास्थ्यमा समस्या पर्ला भनेर केही दिनसम्म त बुबालाई थाहा दिएका थिएनौं । तर कति दिन ढाँट्ने भनेर बतायौं । खबर सुनेलगत्तै उहाँलाई घर बस्न मनै भएन, काठमाडौं आइहाल्नुभयो,’ पूजाले भनिन् । विद्यालयस्तरको पढाइ गाईघाटमै गरेर अमृतले भारतको बैंग्लोरमा उच्च शिक्षा पढेका थिए ।