इरानी ड्रोनबाट युएईमा घाइते सातमध्ये ६ डिस्चार्ज

6 April, 2026

युएईको राजधानी अबुधाबीस्थित अबजान क्षेत्रमा शुक्रबार इरानी ड्रोनका कारण घाइते भएका सात नेपालीमध्ये ६ जना अस्पतालबाट फिर्ता भएका छन् । घाइते एकजनाको उपचार भइरहेको छ । परराष्ट्र र नेपाली दूतावासले घाइतेहरूको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार दूतावासबाट चारजनासँग भेटसहित सातैजना नेपालीसँग कुराकानी भएको छ । एकजनालाई गम्भीर चोट लागेको भए पनि उनी पनि चाँडै नै डिस्चार्ज हुने अवस्थामा रहेको राजदूत क्षेत्रीले बताए । ‘दूतावासका अधिकारीहरूसँगको फोन कुराकानीमा उहाँहरूले खतरामुक्त रहेको जानकारी दिनुभएको छ । घाइतेमध्येका चारजनालाई दूतावासका अधिकारीहरूले भेट गरी उहाँहरूको अवस्थाबारे बुझेको र आवश्यक सहयोगका लागि समन्वय गर्ने जानकारीमा आएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने ।

शुक्रबार घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि परराष्ट्रले नेपाली राजदूतावासलाई निर्देशन दिएको थियो । युएईका सम्बन्धित निकायहरूबाट समयमै उनीहरूको स्वास्थ्योपचारको प्रबन्ध गरिएको पनि परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । नेपाली राजदूतावासले उनीहरूलाई आवश्यक सबै प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024