इरानमा पाँच महिनादेखि नेपाली नागरिक झा थुनामै

19 May, 2026

इरानमा पाँच महिनाअघि पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा नभएको परराष्ट्र मन्त्रालयले प्रस्टीकरण दिएको छ । सोमबार जारी विज्ञप्तिमा परराष्ट्रले झा इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेको तथा कानुनी प्रक्रियामा सहजीकरण भइरहेको पनि जनाएको छ । यसअघि परराष्ट्र मन्त्रालय तथा परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भइसकेको सूचना सार्वजनिक गरेकोमा परराष्ट्रले त्यसलाई सच्याएको छ ।

झा गत जनवरीमा इरानको वेसम टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका थिए । अमेरिका–इजरायल र इरानबिच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनुअघि नै, जनवरी २०२६ को प्रारम्भमा अमृत झा र अन्य ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीहरूले पक्राउ गरेको परराष्ट्रले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

परराष्ट्रका अनुसार २ वैशाखमा इरानका लागि नेपाली अनररी कन्सल सश्राम सान्टाईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी दिएका थिए । सूचनामा ‘आजको निरन्तर पहलपछि अमृतको रिहाइसम्बन्धी खबर प्राप्त भएको छ । उहाँको रिहाइपत्र जारी भइसकेको छ र उहाँ आजदेखि स्वतन्त्र हुनुहुन्छ’ भन्ने उल्लेख गरिएको थियो । सोही जानकारीका आधारमा मन्त्रालयका सम्बन्धित महाशाखाबाट परराष्ट्रमन्त्री र सचिवलाई जानकारी दिइएको र त्यहीअनुसार परराष्ट्रले सूचना सार्वजनिक गरेको प्रस्ट पारिएको छ । त्यहाँको विषम परिस्थिति, सञ्चारमाध्यमको चासो र परिवारलाई समेत जानकारी भइसकेको अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले झा रिहा भएको अनौपचारिक जानकारी सार्वजनिक गरेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024