इरानी सुरक्षाकर्मीले पक्राउ गरेका अमृत झा एक महिनापछि थुनामुक्त भएका छन्। उनी गत ४ चैतमा पक्राउ परेका थिए।
झा व्यापारिक पानीजहाजका क्याप्टेन हुन्। उनी सवार पानीजहाजलाई स्ट्रेट अफ हर्मुजमा इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। झा बुधबार रिहा भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए।
हाल उनी केस्म आइल्यान्ड नामक समुन्द्री टापुमा रहेको मन्त्री खनालको भनाइ छ। ‘कतारस्थित नेपाली दूतावास उनको सम्पर्कमा छ,’ मन्त्री खनाल भन्छन्, ‘उनलाई सकशुल नेपाल ल्याउन हाम्रो टिमले काम गरिरहेको छ।’
उनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गर्दै आएको थियो।
उनको रिहाईबारे परराष्ट्र मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ-
इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा मन्त्रालयमा प्राप्त भएको छ।
सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र निज झालाई आवश्यक प्रकृया पूरा गरी नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको छ।