परराष्ट्र मन्त्रालयले इरानको जेलमा राखिएको महोत्तरीका ३० वर्षीय अमृत झालाई कन्सुलर सेवा प्रदान गर्न पहल भइरहेको जनाएको छ । झालाई पक्राउ गरिएको विषय स्पष्ट खुलिसकेको छैन । ‘अमृत झालाई कन्सुलर सेवा दिनेछौँ । उनलाई पक्राउ गरिएको विषयमा यथार्थ पहिचान गर्न र पक्राउ गरिएको मिति पत्ता लगाउन जेलमा नै गएर बुझ्ने पहल भइरहेको छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले कान्तिपुरसँग भने ।
परराष्ट्रका अनुसार इरान मामिला हेर्ने कतारस्थित नेपाली दूतावासले इरानमा रहेको अवैतनिक महावाणिज्य दूतमार्फत झाको यथार्थ पत्ता लगाउने र परिवारसँग कुराकानी गराउनेतर्फ काम भइरहेको छ ।
उनीसहित ७ जनालाई इरानी सुरक्षाकर्मीले स्ट्रिट अफ हर्मुजबाट नभई अर्को समुन्द्री आइल्याण्ड केशनबाट पक्राउ गरिएको बताइएको छ । यो आइल्याण्ड हर्मुजभन्दा माथि छ ।
प्रवक्ता क्षेत्रीले भने, ‘गत २७ डिसेम्बरमा ओमनको समुद्रबाट पानीजहाज छुटेको रहेछ । जहाजमा ७ जना थिए । त्यसमा चार जनालाई त्यतिखेर नै छाडिएको हो । झा र दुई जना भारतीय नागरिकलाई पक्राउ गरी राखिएको छ । त्यो पक्राउ गरिएको मिति भने युद्ध सुरु अगाडि हो वा पछाडि भन्ने एकिन भइसकेको छैन । इरान र अमेरिकाबीच फेब्रुअरी २८ बाट युद्ध सुरु भएको युद्ध जारी छ ।’
परराष्ट्रको अनुसार उनीहरुलाई केशन आइल्याण्डबाट हर्मुज क्षेत्रको अब्बास बन्दरगाहस्थित अब्बास बन्दरगाह कारागारमा सारिएको छ ।
उनको रिहाइको लागि रोजगारदाता ब्ल्याक सी मरिन एलएलसी कम्पनीले इरानमा वकिल राखेर अदालतमा अपिल गरिसकेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित ब्याल्क सी मरिन कम्पनीले कच्चा तेलको बोक्ने ठेक्का पाएको थियो ।
अमृतकी दिदी पूजा झाले केही दिन अगाडि ‘भ्वाइस मेसेज’ आएपछि भाइ इरानको जेलमा रहेको थाहा पाएको बताइन् । ‘११ दिनअघि एउटा नचिनिएको नम्बरबाट हृवाट्सएपमा भ्वाइस मेसेज आएको थियो, मेसेजमा भाइले हामीलाई इरानी सेनाले कस्टडीमा लिएको छ, अरू भारतीय पनि पक्राउ परेका छन् भनेको थियो,’ पूजाले कान्तिपुरसँग भनिन्, ‘पछि हामीले त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा हुन सकेन ।’
पूजाका अनुसार अमृतसँग पछिल्लो पटक १२ जनवरीमा फोन आएको भएको थियो । ‘त्यसबेला उसले म अहिले इरानमा छु, मेरो काम सकिन लाग्यो, त्यसपछि म सिधैं नेपाल आउँछु भनेको थियो,’ पूजाले थपिन्, ‘तर अचानक भाइ पक्राउ परेको भ्वाइस मेसेज पाएपछि हामीले उसको खोजी गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौँ । मेरो भाइको यथाशीघ्र रिहाइका लागि पहल गरिदिन म नेपाल सरकारसँग अनुरोध गर्छु ।’