इरानको कब्जामा रहेका नेपाली युवा अमृत झालाई स्ट्रेट अफ हर्मुजकै एउटा टापुमा गरियो रिहा

16 April, 2026

अमेरिका र इरानको युद्धबीच इरानले बन्दी बनाएका नेपाली युवा अमृत झा बुधबार रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्री शिशिर खनालले उनी रिहा भएको पुष्टि गर्दै सेतोपाटीसँग भने, ‘इरानस्थित नेपाली महावाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावासले अमृत झालाई रिहा गरिएको जानकारी दिएको छ। उहाँ परिवारको सम्पर्कमा आइसक्नुभएको छ।’

गएको मार्च २१ तारिखका दिन दक्षिणी इरानको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट उदयपुरको त्रियुगा नगरपालिकाका ३२ वर्षीय अमृत झालाई कब्जामा लिइएको खबर आएको थियो। उनी त्यहाँ पानीजहाज चालकका रूपमा काम गर्थे।

इरानले स्ट्रेट अफ हर्मुजबाट पानीजहाज कब्जामा लिँदा त्यो सँगसँगै चालक दलका सदस्य झा पनि कब्जामा परेका थिए।

उनलाई स्ट्रेट अफ हर्मुजमै पर्ने केशम भन्ने एउटा टापुमा ल्याएर छाडिएको परराष्ट्र मन्त्री खनालले जानकारी दिए।

‘उहाँको साथमा एउटा चिठी पनि छ भन्ने हामीले जानकारी पाएका छौं। तर त्यो चिठीको बेहोरा थाहा हुन सकेको छैन,’ खनालले सेतोपाटीसँग भने, ‘नेपाल सरकारले जतिसक्दो छिटो उहाँलाई सुरक्षित रूपमा नेपाल फिर्ता ल्याउने तयारीमा छ।’

त्यस दिन झासहित चालक दलका सात जनालाई इरानले कब्जामा लिएको थियो। पक्राउ परेका अन्य ६ जना भारतीय नागरिक भएको बताइएको छ।

इरानले नेपाली युवा समातेको खबर त्यस जलक्षेत्रबाट तेल ओसारपसार गर्ने पानीजहाजमा इरानले हमला तीव्र गरेका बेला आए पनि अमृत झा भने इरान युद्ध सुरू हुनुभन्दा करिब दुई महिनाअघि नै पक्राउ परिसकेका थिए।

परिवारजनका अनुसार अमृतले थाइल्यान्डमा गएर पानीजहाज चालकको तालिम लिएका थिए। त्यसपछि करिब १० वर्षदेखि युएईको दुबईका कम्पनीहरूमा आबद्ध भई पानीजहाज चालकको काम गर्दै आएका छन्। उनी पछिल्लो पटक दुई वर्षअघि रोजगारीका लागि दुबई गएका थिए।

इरानले पक्राउ गर्नुअघिसम्म अमृतले छिट्टै घर फर्किने योजना बनाइरहेका थिए।

नेपाली कूटनीतिक अधिकारीहरूका अनुसार उनको जहाज स्ट्रेट अफ हर्मुज नजिकै तेल लिन गएको थियो। तर दक्षिणी इरानको बन्दर अब्बास नजिकैको केशम टापु नजिकै पुगेपछि इरानी सुरक्षा फौजले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024