इराकको अर्विलमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी भएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन् । त्यस्तै विमानस्थलमा पनि निरन्तर ड्रोन हमला भएपछि नजिकै रहेको अमेरिकी सेनाको क्याम्पमा कार्यरत १२० नेपालीलाई होटलमा सारिएको छ । सुरक्षा सावधानीका लागि केही नेपाली इराक छाडेर बाटो लागिसकेका छन् ।
यूएईको महावाणिज्य दूतावासमा हमला हुँदा घाइते दुई नेपालीमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको हात र अनुहारमा आगोले पोलेको छ । अर्का नेपालीको हातमा सामान्य चोट लागेको छ ।
‘हामी खाना खाइरहेका थियौं । एक्कासि ड्रोन पड्कियो । मेरो हात र अनुहार आगोको लप्काले भेट्यो,’ उपचाररत सुरक्षागार्डले कान्तिपुरसँग फोनमा भने, ‘अर्का साथीको हातमा सामान्य चोट लगेको थियो ।’
महावाणिज्य दूतावासमा १३ जना नेपाली सुरक्षागार्ड र दुई जना नेपाली महिला कर्मचारी गरी १५ जना कार्यरत छन् । शनिबारको हमलापछि सबैलाई सुरक्षित स्थानमा सारिएको छ । दूतावासलाई लक्षित गरी एक साताभित्र गरिएको यो दोस्रो आक्रमण हो । पछिल्लो हमलामा दुई जना सुरक्षा कर्मचारी घाइते भए भने वाणिज्य दूतावास भवनमा क्षति पुगेको छ । यूएईले ड्रोन आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै कूटनीतिक नियोग र परिसरलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय नियम र कानुनको स्पष्ट उल्लंघन भएको बताएको छ ।
‘विशेषगरी कूटनीतिकसम्बन्धी भियना महासन्धिले कूटनीतिक परिसरको अक्षुण्णता र कूटनीतिक कर्मचारीको सुरक्षाको सुनिश्चितता गर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ,’ यूएईको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यबाट क्षेत्रीय सुरक्षा र स्थायित्वका
लागि खतरनाक उक्साहट तथा गम्भीर चुनौती भएको छ ।’ साथै इराक सरकार तथा कुर्दिस्थान सरकारलाई आक्रमणको छानबिन गर्न, जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक सबै कदम चाल्न पनि यूएईले भनेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इराकमा झन्डै ३० हजार नेपाली कार्यरत छन् । यसअघि इराकको स्वशासित राज्य कुर्दिस्थानको राजधानी अर्विलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि त्यहाँ कार्यरत १ सय २० जना नेपालीलाई पनि सुरक्षित स्थानमा राखिएको छ । १६ फागुनमा गोरखाका इन्द्र गुरुङ अर्विल विमानस्थलमा काम गरिरहेका थिए । दिउँसो एक बजेतिर एक्कासि आकाशमा ड्रोनहरू देखिन थाले । ड्रोन अर्विल विमानस्थलतिर सोझिँदै थिए । अमेरिकी बेस क्याम्प पनि अर्विल विमानस्थलभित्रै छ । ड्रोन हमला सुरु भएपछि विमानस्थल परिसरमा भागभाग सुरु भयो । उनीहरूले आफ्नो क्याम्पबाट लुगाबाहेक केही बोक्न पाएनन् ।
‘विमानस्थलभित्र थियौं । केही उडानहरू रद्द भइरहेका थिए । विमानस्थलको आकाशमा एक्कासि ड्रोनहरूले फन्को लगाउन थाले । विमानस्थलमै आक्रमण हुन्छ भन्ने सूचना आइसकेको थिएन । बस्ने क्याम्प पनि विमानस्थलभित्रै थियो,’ इन्द्रले फोनमा कान्तिपुरसँग भने । ‘तर, हमला सुरु भएपछि ट्रर्मिनलभित्र भागाभाग सुरु भयो । त्यतिबेला एक सय २० जना नेपालीसहित चार सयभन्दा बढी श्रमिक थियौं । सबैलाई विमानस्थलको टर्मिनलछेउमा लगियो । कम्पनीले तुरुन्तै सबै कामदारलाई विमानस्थलबाट उद्धार गर्न सुरु गरिहाल्यो,’ उनले भने । पाँच वर्षदेखि अर्विल विमानस्थलमा कार्यरत इन्द्रले भने, ‘धन्न ड्रोन नजिकै झरेन,’ उनले भने, ‘हाम्रा लागि सबैभन्दा ठूलो विषय सुरक्षित रहनु थियो ।’
अर्विलमै कार्यरत अर्का एक नेपाली श्रमिक प्यूठानका मुकेश गुरुङका अनुसार विमानस्थलबाट उद्धार गरिएका सबैलाई अर्विलको एउटा होटलमा राखिएको छ । ‘हामी भिन्नभिन्न कम्पनीमार्फत विमानस्थलमा काम गर्थ्यौं । २० नेपाली दिदीबहिनी हुनुहुन्छ । उनीहरूलाई अलग्गै भिल्लामा लगेर राखिएको छ । हामी भने सबै होटलमा छौं,’ उनले भने । काम बन्द भएकाले उनीहरूको अहिलेको दैनिकी भनेको दिन कटाउनु मात्र हो ।
नेपाली श्रमिकहरूमध्ये केही परिस्थिति सामान्य बनेपछि फेरि काममा फर्किन चाहन्छन् भने केही स्वदेश फर्किने योजनामा छन् । मुकेशको भने तत्काल नेपाल फर्कने योजना छैन । अवस्था सामान्य बनेपछि काममा लैजाने र यदि नेपाल जान/फर्कन चाहेमा पठाउने आश्वासन कम्पनीले दिएको उनले बताए । ‘कम्पनीले हामीलाई सामान्य परिस्थिति भएपछि मात्रै ड्युटीमा पठाउने भनेको छ,’ मुकेशले भने, ‘जानैपर्ने अवस्था आए मात्रै नेपाल पठाउने भनेको छ ।’
उदयपुरका तालबहादुर आले मगरले पनि नेपालमा रोजगारी पाउने सम्भावना नरहेकाले तत्काल स्वदेश फर्किन इच्छुक नभएको बताए । ‘यहाँको रोजगारी छोडेर नेपाल फर्किहाल्न मन छैन । अझै एक डेढ वर्ष काम गर्ने इच्छा छ,’ उनले भने, ‘अवस्था नाजुक बनेमा मात्रै स्वदेश फर्किने हो ।’
त्यस्तै गोरखाका शिशिर गुरुङ आफूहरू सुरक्षित भए पनि नेपालमा रहेका परिवार भने चिन्तित रहेको बताउँछन् । ‘हाम्रो के हुन्छ ? सुरक्षाको प्रत्याभूति कस्तो छ भनेर घरबाट सधैं चासो राखिरहेका छन्,’ गुरुङ भन्छन्, ‘हामी अहिले सुरक्षित छौं । परिवारलाई पनि आश्वस्त बनाइरहेको छु ।’
अर्विल विमानस्थलभित्रको अमेरिकी बेस क्याम्पमा कार्यरत डेढ सयभन्दा बढी नेपाली भने नेपाल आइसकेका छन् । ‘अमेरिकी बेस क्याम्पभित्र डेढ सयभन्दा बढी नेपाली काम गर्थे । उनीहरूलाई युद्ध सुरु हुनुभन्दा अगाडि नै नेपाल पठाइसकेको छ,’ अमेरिकी बेस क्याम्पभित्रको रेस्टुरेन्टमा कार्यरत अर्घाखाँचीका रामबहादुर थापाले भने, ‘अहिले रेस्टुरेन्ट बन्द छ । तीन नेपाली काम गर्थ्यौं । दुई जना अर्को रेस्टुरेन्टमा काम गर्न बसेका छन् । म भने नेपाल फर्किंदै छु ।’
सात वर्षदेखि अर्विलमा कार्यरत थापाले इराकमा असुरक्षा बढेपछि नेपाल फर्कन लागेको बताए । ‘सुरुको पहिलो हप्ता एकदमै तनाव भयो । यहाँ इरानबाट मात्रै आक्रमण भइरहेको छैन । इराकमा रहेको इरान समर्थित समूहबाट आक्रमण भइरहेको छ,’ उनले भने, ‘परिस्थिति अनुकूल भएमा मात्रै फर्किन्छु होला ।’ थापा नेपाल आउनका लागि इराकबाट स्थलमार्ग हुँदै टर्कीको राजधानी इस्तानबुल पुगिसकेका छन् । ‘टर्कीको महावाणिज्य दूतको कार्यालयबाट ट्रान्जिट भिसा लिएँ । इराकको आवासीय परिचयपत्र र टिकट भएपछि पाँच दिनको भिसा दिँदोरहेछ । बसबाट टर्कीको राजधानी इस्तानबुल आएँ,’ उनले फोनमा कान्तिपुरसँग भने, ‘बाटोमा कुनै समस्या भएन । बोर्डर पार गर्न आठ घण्टा लाग्यो । तर, नेपाल लैजान लागेका सामानहरू भने बोर्डरमा प्रहरीले रोकिदियो ।’
गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार अमेरिकी बेस क्याम्पमा रहेका सबै नेपालीले इराक छाडिसकेको बताए ।