इन्धन अभावले भारतबाट धमाधम फर्कँदै नेपाली कामदार

17 April, 2026

Bhawani Bhatta

हुम्लाको ताँजाकोट गाउँपालिका–५ का चन्द्रबहादुर बुढा भारत उत्तराखण्डको गौचर भन्ने ठाउँमा पाँच महिनादेखि दैनिक ज्याला मजदुरीमा काम गरिरहेका थिए ।

पश्चिम एसियामा जारी इरान-इजरायल, अमेरिका युद्धको प्रभाव भारतको ग्रामीण भेगमा मजदुरी गरिरहेका बुढाले पनि झेल्नुपर्‍यो । इन्धनको बढ्दो महंगी झेल्न नसक्ने अवस्था आउनुका साथै अभाव झनै चर्किने देखेर उनी मजदुरीको काम छाडेर घर फर्किए ।

बुढाले खाना पकाउने ग्यास नपाएर एक महिनादेखि दाउरामा पकाइरहेका थिए । दाउरा पनि सहजै पाइन छाडेपछि उनी बिहीबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किएका छन् । ‘एक महिनाअघिसम्म ब्ल्याकमा ग्यास पाइन्थ्यो, अहिले त पाउनै गाह्रो छ, पाए पनि किन्नै नसकिने भएको छ,’ बुढाले भने, ‘हामीले ग्यास खोज्नुको काम गर्नु, त्यो भन्दा त घरतिरै फर्कियौं ।’ बुढासँगै हुक्ला ताँजाकोटकै विराज रोकाया पनि घर फर्किएका छन् । ग्यास पाइन छाडेपछि दाउरामा खाना बनाउन निकै गाह्रो हुने र सहजै नपाइने समस्याका कारण घर फर्किएको उनीहरु बताउँछन् ।

भारतको राजधानी दिल्लीमा खाना पकाउने ग्यासको अभाव झनै चर्को रहेको नेपाली कामदारहरु बताउँछन् । उनीहरुका अनुसार त्यहाँ प्रतिसिलिण्डर ५ हजार भारुसम्म तिर्नु परिरहेको छ । जसका कारण नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । उनीहरुका अनुसार होटल क्षेत्रमा काम गर्नेहरु कामदार कटौतीका कारण समेत बेरोजगार भएर घर फर्किन लागेका छन् । ‘अहिले दिल्लीमा काम पनि कम पाइन लागेको छ, फेरि ग्यास पनि पाउन गाह्रो छ,’ बझाङको छबिस पाथीभेरा गाउँपालिकाका मनवीर सार्कीले भने, ‘ठूलाबडाका लागि छ, हामीलाई पकाइ खान पनि मुस्किल भयो ।’ उनी दिल्लीमै काम गर्छन् । दिल्लीमा अहिले खाना पकाउने ग्यास ब्ल्याकमा प्रतिकिलो ३ सयदेखि ५ सय भारुसम्म खरिद गर्नु परिरहेको छ । पूरै सिलिण्डर खरिद गर्दा ५ हजार लाग्ने गरेको छ ।

सार्की अब तत्काल भारत नफर्किने मनस्थितिमा छन् । सकभर ज्याला मजदुरीको काम पाए गाउँमै बस्ने उनको योजना छ । ‘कहिले कोरोना आउँछ, कहिले युद्धले हामी मजदुरलाई भागदौड मात्रै,’ उनले भने, ‘यो पीडा कहिलेसम्म झेल्नुपर्ने ?’ उनीसँगै काम गर्न गएको धेरै छिमेकीहरु गतसाता नै घर फर्किसकेका छन् । कोही काम नपाएर त कोही नयाँ वर्षका लागि घर फर्किएका हुन् । ‘अहिले दिल्लीको होटलमा काम गर्ने नेपालीहरु बेरोजगार भएर घर फर्किन थालेका छन्,’ कैलाली सुख्खडकी चन्द्रा रावतले भनिन्, ‘होटलहरुले ग्यास अभावका कारण कामदार कटौती गरिरहेका छन्, जसका मारमा नेपाली बढी परेका छन् ।’ उनका अनुसार अन्य क्षेत्रमा काम गर्ने नेपाली समेत इन्धन अभावको मारमा परेका छन् ।

रोजगारीको खोजीमा भारतको ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्म सबै ठाउँमा पुगेका नेपाली कामदारहरु प्रभावित भएका हुन् । कतै खाना पकाउने ग्यास नपाएर त कतै इन्धन अभावमा होटल र उद्योगहरुले श्रमिक कटौती गर्न थालेपछि नेपालीहरु प्रभावित भएका हुन् । ‘महामारी आउँदा हामीले भागेरै घर आउनुपर्‍यो, युद्ध चल्दा हामीले नै दुःख पाउनुपर्‍यो,’ जाजरकोटको छेडगाड नगरपालिका–१ का मानबहादुर बुढाले भने, ‘पहाडी भेगमा पनि मालवाहक साधन नचल्दा काम पाउन गाह्रो भएको छ ।’ उनी अल्मोडामा सडक निर्माणको क्षेत्रमा ज्यालादारीको काम गरिरहेका थिए ।

विगतमा नयाँ वर्षको अघिल्लो दिनसम्म नाकामा भारतबाट घर फर्किने नेपालीको भीडभाड देखिन्थ्यो । तर अहिले नयाँ वर्षपछि पनि घर फर्किनेको भीड कम भएको छैन । बिहानको समयमा नाकामा निकै चहलपहल बढ्ने गरेको छ । गड्डचौकी नाकाबाट मात्रै दैनिक ५ सय हाराहारी नेपाली घर फर्किरहेका छन् । उत्तराखण्ड र हिमाञ्चलसँगै दिल्ली, मुम्बई र बैंग्लोरलगायतका ठूला सहरबाट समेत घर फर्किरहेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024