युवा, श्रम तथा रोजगार मन्त्रालयले इटहरीमा असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना गर्ने भएको छ। ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुन लागेको मेलाको उद्देश्य उत्पादनशील रोजगारी सिर्जना, सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु रहेको मन्त्रालयले जनाएको छ।
बुधबार मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई बलियो बनाउन मेलामा उद्योग, सेवा, कृषि र निर्माणलगायत १० वटा विधाका ६५ स्टल रहनेछन्। मेलाको मुख्य अवधारणा ‘माग–सीप तालिम–रोजगार’ लाई एउटै प्रणालीमा आबद्ध गर्नु रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मेलामार्फत श्रम बजारको आवश्यकताअनुसार सीप तालिम सञ्चालन गरी रोजगारी सुनिश्चित गर्ने, उद्योगी, श्रमिक, शैक्षिक संस्था र सरकारबीचको समन्वय तथा साझेदारी प्रभावकारी बनाउने तथा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने लक्ष्य राखिएको छ।
मन्त्रालयका अनुसार तीनै तहका सरकार, निजी क्षेत्र र विकास साझेदारको सहकार्यमा मेला सञ्चालन हुन लागेको हो। सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गतका विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, दुहबी नगरपालिका र कटहरी गाउँपालिकालगायत स्थानीय तह तथा कोशी प्रदेशका सबै १३७ स्थानीय तहको सहभागिता रहनेछ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, उद्योग संगठन मोरङ, नेपाल ट्रेड युनियन महासंघलगायत निजी क्षेत्रका संस्थाहरू पनि मेलामा सहभागी हुने मन्त्रालयले जनाएको छ।
मेलाका लागि तयार गरिएको jobfair.shramsansar.gov.np पोर्टलमार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच ‘जब म्याचिङ’ गराई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले रोजगारदाता, उद्योगी–व्यवसायी, श्रमिक, शैक्षिक तथा प्राविधिक संस्था, युवा र अन्य सरोकारवालालाई मेलामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।