इजरायल कामदार पठाउन कम्पनी छानिए

15 November, 2011

होम कार्की

वृद्धवृद्धाको हेरचाह गर्ने केयरगिभरका रूपमा नेपाली कामदारलाई इजरायल पठाउन २ सय ६ म्यानपावर कम्पनीले अनुमति पाएका छन् । 

अनुमति पाएलगत्तै यी कम्पनीले माग ल्याएर कामदार पठाउने प्रक्रिया सुरु गर्न पाउने छन् । वैदेशिक रोजगार विभागले ‘इजरायलमा कियरगिभर पठाउन श्रम मन्त्रालयले बनाएको कार्यविधि’ भित्र रहेर गरेको छनोटमा ४३ कम्पनी भने अस्वीकृत भएका छन् ।

 

सरकारले केयरगिभरमा जान लाग्ने खर्च भने तोकिसकेको छैन । श्रम सम्बन्ध महाशाखाले व्यवसायीसँग छलफल गरी २ हजार ९ सय २५ अमेरिकी डलर -२ लाख २७ हजार रुपैयाँ) तोक्न श्रममन्त्री सरिता गिरीसमक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

 

विभागका महानिर्देशक पुर्णचन्द्र भट्टराईले तीन वटा आधार बनाई पारदर्शी रूपमा म्यानपावर छनोट गरिएको बताए । ‘पछिल्लो तीन वर्षसम्म वैदेशिक रोजगारमा कामदार पठाएको, रीतपूर्वक र म्यादभित्र दर्ता भएका र कामकारबाहीमा रोक्का नभएका म्यानपावर कम्पनी छनोटमा परेका छन्,’ उनले भने । 

 

उनका अनुसार छनोटमा नपरेका म्यानपावर कम्पनीमा तोकआदेश बिना दर्ता भएकाहरू बढी छन् । ‘तीन वर्ष नपुगेका, रीतपूर्वक दर्ता नभएका र तोक आदेश बिना शाखामा दर्ता भएकाहरू अस्वीकृत भएका हुन्,’ उनले भने ।

 

विभागले छनोट गर्नुअघि आइतबार बिहान नमुनाका रूपमा १५ म्यानपावर कम्पनीमाथि पुनः छानबिन गरेको थियो । इजरायल सरकारले तीन महिनाअघि नै केयरगिभरका लागि खुला गरेको थियो । ‘हामी विगत नदोहोरियोस् भनेर अति संवेदनशील रूपमा काम गरिरहेका छौं,’ भट्टराईले भने ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024