इजरायली दूतावासले मोबाइल नम्बर सार्वजनिक गर्दै भन्यो– आपतकालीन अवस्थामा फोन गर्नू

8 April, 2026

इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ ।

‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।

आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले भनेको छ ।

दूतावासले सार्वजनिक गरेअनुसार द्वितीय सचिव कुमार बहादुर श्रेष्ठको सम्पर्क नम्बर +९७२–५३५३६०७४८ र तृतीय सचिव सचिव सञ्ज कुमार शाहको सम्पर्क नम्बर ‌‍+९७२–५४५५८२०७७ हो ।

होम फ्रन्ट कमाण्ड लगायत इजरायल सरकार एवम् इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ ।

साथै अलर्ट एसमएस आएमा तथा खतराको संकेत स्वरुप साइरन बजेमा हेलचेक्र्याइँ नगरी आफू नजिकैको बम सेल्टरमा अनिवार्य रुपमा जान भनिएको छ ।

आफ्ना राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्ड लगायतका कागजात आफ्नो साथमै राख्न र विकसित घटनाक्रमको बारेमा नियमित रुपमा अद्यावधिक जानकारी राख्न पनि इजरायलमा रहेका नेपालीहरुलाई भनिएको छ ।

सामाजिक सन्जालमा देखिएका युद्धसम्बन्धी भिडियोहरु अनावश्यक रुपमा सेयर नगर्न, साथीभाइ, परिवार र आफन्तसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले भनेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024