इजरायलको ‘लटरी आउट’ सूचीका ११५३ नेपालीलाई तत्काल लैजान नसकिने, पुनः सहभागी हुन मन्त्रालयको आग्रह

20 May, 2026

Hom Karki

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न छनोट प्रक्रियाबाट बाहिरिएका (लटरी आउट) ११५३ नेपालीलाई तत्काल श्रमिकका रूपमा पठाउने प्रक्रिया अघि बढाउन नसकिने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई आगामी विज्ञापनमा सहभागी भएर पुनः प्रक्रिया पूरा गर्न आग्रह गरेको हो ।

नेपाल र इजरायल सरकारबीच सन् २०२० मा भएको द्विपक्षीय श्रम सम्झौताअनुसार नेपाली श्रमिकलाई इजरायलका विभिन्न संस्थागत दीर्घकालीन स्याहार केन्द्रमा ‘लङ टर्म अक्सिलरी’ कामदारका रूपमा पठाइँदै आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०८१ असार ११ गते वैदेशिक रोजगार विभागले प्रकाशित गरेको विज्ञापनका आधारमा आवेदन दिएका उम्मेदवारमध्ये न्यूनतम योग्यता पुगेकाबाट इजरायलको पिवाले लटरीमार्फत २११२ नेपाली श्रमिक छनोट गरेको थियो । तीमध्ये अधिकांश इजरायल पुगिसकेको र बाँकी जाने क्रममा रहेका छन् ।

तर, लटरीमा नपरेका १ हजार १५३ उम्मेदवारलाई पनि इजरायल पठाउन माग गर्दै मन्त्रालयमा पटक–पटक अनुरोध र छलफल हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उनीहरूको मागअनुसार परराष्ट्र मन्त्रालय र नेपालस्थित इजरायली दूतावासमार्फत आवश्यक कूटनीतिक पहलसमेत गरेको जनाएको छ । तर, पिवाबाट प्राप्त जानकारीअनुसार हाल ‘लटरी आउट’ उम्मेदवारलाई समेटेर प्रक्रिया अघि बढाउन सम्भव नभएको मन्त्रालयले स्पष्ट पारेको छ । पिवाले आगामी विज्ञापनमा उनीहरू पुनः सहभागी हुन सक्ने जानकारी दिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले वैदेशिक रोजगार विभागबाट नयाँ लटको विज्ञापन आउने भएकाले योग्य ‘लटरी आउट’ उम्मेदवारलाई आगामी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । हाल कार्यान्वयनमा रहेको श्रम सम्झौता, इजरायलको नियम, प्रणाली र विद्यमान अवस्थालाई ध्यानमा राखेर नयाँ विज्ञापनमा सहभागी हुनुपर्ने मन्त्रालयको भनाइ छ ।

यस्तै, मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी प्रतीक्षामा रहेका उम्मेदवारहरूको मागबारे पनि धारणा सार्वजनिक गरेको छ । रोष्टर थप, रोष्टर परिवर्तन र समयावधि थप गर्न माग गर्दै पटक–पटक अनुरोध आएपछि कोरिया सरकारसमक्ष कूटनीतिक रूपमा पहल गरिएको मन्त्रालयले जनाएको छ ।

तर, नेपाल–दक्षिण कोरियाबीचको श्रम समझदारी र ईपिएस प्रणालीअनुसार नै प्रक्रिया अघि बढ्ने भएकाले यस विषयमा थप दबाब वा माग गरिरहन आवश्यक नरहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार र सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024