अस्ट्रेलियामा भूकम्प प्रतिरोधी इन्जिनियरिङमा काम गर्ने ‘डाक्टर’

15 May, 2026

Sunita Sitaula

अर्घाखाँची घर भएका इन्जिनियर तिलक पोखरेल हाल अस्ट्रेलियाको मेलबर्नमा बस्छन्।

उनी अस्ट्रेलिया बस्न थालेको १३ वर्ष भयो।

स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीमा पढाउने उनले विद्यावारिधि गरेका छन्। उनी अहिले स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीको सुपरभाइजरको जिम्मेवारी पनि सम्हाल्छन्।

यसबाहेक, अस्ट्रेलियन इन्जिनियरिङ फास्टनर्स एन्ड एन्कर्स काउन्सिलमा प्राविधिक तथा अनुसन्धान प्रबन्धकका रूपमा कार्यरत छन्।

‘अनुसन्धान गर्ने प्रोफेसनल टिममा चार जना छौं। त्यसबाहेक १० जना पिएचडी गर्ने विद्यार्थी छन्। तीमध्ये तीन जना नेपाली हुन्,’ डा. तिलकले भने।

उनका अनुसार यहाँ विद्यावारिधि गर्ने सबै विद्यार्थी छात्रवृत्तिमा आउँछन्। वर्षमा एक जना नेपाली विद्यार्थी ल्याउन आफूले पनि प्रयास गरिरहेको तिलकले जानकारी दिए।

उनको अनुसन्धान मुख्यतः घरमा प्रयोग हुने कंक्रिट र स्टिल कसरी जोड्ने भन्ने विषयमा केन्द्रित छ। यस सम्बन्धमा गरिएको अनुसन्धानको आउटपुट (नतिजा) अस्ट्रेलियन स्ट्यान्डर्डमा राखिएको हुन्छ।

जापानको टोकियो विश्वविद्यालयबाट भूकम्प सम्बन्धी इन्जिनियरिङमा स्नातकोत्तर गरेका तिलक सन् २०१३ मा विद्यावारिधि गर्ने उद्देश्यले अस्ट्रेलिया गएका हुन्।

‘म मेलबर्न युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्न आएको थिएँ,’ उनले सुनाए, ‘त्यसपछि पढाइ सकेर यहीँ काम सुरू गरेको हुँ।’

तिलकको काम विशेष गरी स्ट्रक्चरल इन्जिनियरिङ, कंक्रिट एंकरेज, भूकम्प प्रतिरोधी डिजाइन, स्टिल र कम्पोजिट निर्माण तथा फास्टनिङ प्रविधिमा केन्द्रित छ।

स्ट्रक्चरल र भूकम्प इन्जिनियरिङको क्षेत्रमा तिलकसँग १५ वर्षभन्दा बढीको अनुभव छ। उनी स्ट्यान्डर्ड्स अस्ट्रेलिया र युराेपियन स्ट्यान्डर्ड्स कमिटीका सदस्य पनि छन्।

उनले अस्ट्रेलियाको प्रमुख इन्जिनियरिङ डिजाइन मापदण्डको मस्यौदा टोलीको नेतृत्व समेत गरेका थिए। अस्ट्रेलियामा यस्तो महत्वपूर्ण प्राविधिक मापदण्डको नेतृत्व गर्ने आफू सम्भवतः एक मात्र नेपाली इन्जिनियर भएको उनको दाबी छ।

‘यहीँ पढेर, यहीँ काम गरेर यसरी प्राविधिक मापदण्डको नेतृत्व तहमा पुगेको पहिलो नेपाली इन्जिनियर मै हुँला,’ उनले सुनाए।

तिलकले भूकम्प, आगलागी र अन्य कठिन परिस्थितिमा कंक्रिट एंकर्सको सुरक्षा सुधार गर्ने विषयमा धेरै प्राविधिक लेख पनि प्रकाशन गरेका छन्।

नेपालको गोरखा भूकम्पपछि भूकम्प विशेषज्ञ टोलीको सदस्यका रूपमा अस्ट्रेलियाको तर्फबाट सहभागी भएका तिलकले विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन्।

उनी सामुदायिक कार्यमा सक्रिय छन्। अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टरका अध्यक्ष रहेका उनले भिक्टोरियामा नेपाली सामुदायिक केन्द्र विकास, सांस्कृतिक कार्यक्रम र बहुसांस्कृतिक पैरवीको नेतृत्व गरिरहेका छन्।

तिलक नेपाल हुँदा स्ट्रक्चरल डिजाइनको काममा संलग्न थिए। पुल्चोक क्याम्पसमा स्नातक तहका विद्यार्थीलाई पढाउँथे पनि।

उनले नेपाल र विदेशको पढाइमा ठूलो अन्तर भेटेका छन्।

भन्छन्, ‘नेपालमा पढाइ कन्सेप्ट बुझाउने किसिमको हुने भए पनि धेरै विषय थोरै थोरै पढाइन्छ। विदेशमा भने एउटै विषयमा गहिरो रूपमा अनुसन्धान गराइन्छ। यहाँ सैद्धान्तिकभन्दा पनि बढी प्रयोगात्मक अभ्यास हुन्छ।’

विदेशमा रहेर काम गर्दा समूह कार्य, संवाद सीप र समस्या समाधान गर्ने क्षमता विकास भएको उनको अनुभव छ।

‘विदेशमा सिकेको ज्ञान र अनुभव अब नेपालकै विकासमा प्रयोग गर्न चाहन्छु,’ तिलक भन्छन्, ‘सामाजिक काममा अझ सक्रिय भएर धेरै नेपालीलाई सहयोग गर्ने योजना पनि छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024