अभावबाट उठेर जर्मनीमा करिअर बनाइरहेकी अनु

3 August, 2026

Sunita Sitaula

कमजोर आर्थिक अवस्थामा हुर्किएकी अनु महर्जनलाई आमाबुबाको संघर्षले सानैदेखि आत्मनिर्भर बन्न सिकायो। त्यही बाटो हिँड्दै उनी आठ वर्षअघि ल्याङ्ग्वेज भिसामा जर्मनी पुगिन्।

हाल उनी म्युनिखस्थित मेडिकल प्रविधि (मेडटेक) उद्योगसँग सम्बन्धित कम्पनीमा प्रोक्योरमेन्ट स्पेसलिस्टका रूपमा कार्यरत छिन्।

प्रोक्योरमेन्ट स्पेसलिस्ट भनेको कुनै संस्था वा कम्पनीलाई आवश्यक पर्ने सामान, उपकरण, कच्चा पदार्थ वा सेवाको खरिद प्रक्रिया गुणस्तर, उचित मूल्य र सही समयमा व्यवस्थापन गर्ने विशेषज्ञ हो।

यस भूमिकामा उनले कम्पनीलाई आवश्यक पर्ने उपकरण, सामग्री तथा सेवाको खरिद प्रक्रिया व्यवस्थापन गर्ने, उपयुक्त आपूर्तिकर्ता छनोट गर्ने तथा गुणस्तर, मूल्य र समयमै आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी सम्हाल्छिन्।

‘ग्राहकले माग गरे अनुसार सामान उपलब्ध गराउनु मेरो जिम्मेवारी हो,’ उनले भनिन्।

कम्पनीका मुख्य ग्राहक अस्पताल तथा क्लिनिक हुन्। कम्पनीले आवश्यक पर्ने मेडिकल सामग्रीमध्ये करिब ८० प्रतिशत आफै उत्पादन गर्छ भने बाँकी २० प्रतिशत अन्य ग्लोबल सप्लायर्सबाट खरिद गर्छ।

आफ्नो कम्पनीमा नभएका सामान पनि अन्य कम्पनीबाट खरिद गरेर ग्राहकसम्म समयमै पुर्‍याउने व्यवस्था मिलाउनु अनुको काम हो।

‘यसको मुख्य चुनौती सामान गुणस्तरीय छ कि छैन र सम्बन्धित देशको सामान जर्मनी ल्याउन पाइन्छ कि पाइँदैन भन्ने कुरा सुनिश्चित गर्नु हो,’ उनले भनिन्।

उनले यो कम्पनीमा काम गर्न थालेको करिब ९ महिना भयो।

अनुको परिवार काठमाडौंको धुम्बाराहीमा बस्थ्यो।

आमाबुबाको संघर्ष नजिकबाट नियालेकी अनु सानैदेखि आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच राख्थिन्। त्यस अनुसार एसएलसी (एसइई) उत्तीर्ण गरेपछि उनले जागिर सुरू गरिन्।

उनले एक जर्मन लगानीकर्ताले खोलेको कम्पनीमा काम पाएकी थिइन्। त्यहाँ उद्यमशीलता सम्बन्धी अनुसन्धान हुन्थ्यो। तालिम दिइन्थ्यो।

‘त्यहाँ काम गर्ने जर्मन नागरिक निकै मेहनती र सहयोगी स्वभावका थिए। त्यही बेलादेखि नै मलाई जर्मनी जान मन भयो,’ उनले सुनाइन्।

जागिरसँगै उनले पढाइ अघि बढाइन्। त्यहाँ चार वर्ष काम गरेपछि टिटिआई इंक नामक ग्लोबल नेटवर्क भएको कम्पनीमा काम सुरू गरिन्। यो विश्वभरका उद्योगलाई आवश्यक पर्ने इलेक्ट्रोनिक पाटपुर्जा आपूर्ति गर्ने अमेरिकी कम्पनी हो।

केही समय काम गरेपछि उनी सन् २०१८ मा जर्मनी गइन्।

जर्मनी जाने मुख्य उद्देश्य एमबिए पढ्नु थियो। त्यसका लागि अनु सुरूमा भाषा अध्ययन (ल्याङ्ग्वेज) भिसामा जर्मनी पुगेकी थिइन्।

‘जर्मनीमा अंग्रेजी माध्यमबाट एमबिएका कार्यक्रम धेरै थिएनन्। भएका पनि निकै प्रतिस्पर्धात्मक थिए। सिट संख्या थोरै थियो र आवेदन धेरै पर्थे,’ उनले भनिन्, ‘जोखिम लिनुभन्दा जर्मन भाषामै एमबिए गर्छु भनेर पहिले भाषा सिक्न भाषा अध्ययन भिसामा आएँ।’

एक वर्षे भाषा कोर्स पूरा गरेलगत्तै उनलाई नेपालमै हुँदा काम गरेको टिटिआई इंक कम्पनीबाट जागिरको प्रस्ताव आयो। उनले पढाइ रोकेर जागिरलाई निरन्तरता दिइन्।

एक वर्षपछि साप्ताहिक बिदाको दिन कक्षा हुने गरी एमबिए पढाइ पनि अघि बढाइन्।

त्यहाँ सात वर्ष काम गरेपछि उनी अहिले कार्यरत कम्पनीमा गएकी हुन्।

अनुले जर्मनीमा सुरूका वर्षहरू भाषा सिक्न, काम बुझ्न र आफूलाई स्थापित गर्न निकै मेहनत गरिन्।

त्यही मेहनत र संघर्षको फलस्वरूप गत वर्ष आफ्नी आमालाई पहिलो पटक जर्मनी घुमाउने अवसर जुटाएको उनी बताउँछिन्।

‘म कान्छी छोरी। आँट गरेर विदेश आएँ। अहिले सपना पूरा भएको जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘परिवारमा सबै खुसी छन्।’

अनु वर्षमा एक पटक नेपाल आउने प्रयास गर्छिन्।

‘अहिले पनि आमासँग फोनमा कुरा हुँदा पहिलो प्रश्न कहिले आउँछेस् हुन्छ। तर अहिले म केही व्यावसायिक योजना बनाइरहेकी छु। त्यसैले टुंगो छैन,’ अनुले भनिन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024