१३ जना चेलीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइयो

25 December, 2018

भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीहरूलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको छ। नेपाली जनसम्पर्क समिति, भारतले भारतको अहमदावाद, बैङ्लोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको हो।

 

भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरूलाई उद्धार गरी काठमाडौं ल्याउन आफूहरू सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूलाई जानकारी दिए।

 

समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेकी ९१ जना चेलीहरूको उद्धार गरिएको दाबी पनि गरेको छ ।

 

ती चेलीहरूलाई उद्धार गर्ने क्रममा दलालहरूसँग नक्कली कागजपत्र समेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरूलाई कडा कारबाही गर्न पनि माग गरे।

 

नक्कली कागजपत्र बनाएर उनीहरूले ती चेलीहरूलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा बेच्न लगेको पनि अध्यक्ष पाण्डेले बताए।

 

समितिले उद्धार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरूको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ।समितिका अध्यक्ष पाण्डेले उद्धार गरिएका ती चेलीहरूको शिक्षा, बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गर्ने बताए।

 

नेपाली चेलीहरू बेचबिखन कार्यमा संलग्न दलालहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने अध्यक्ष पाण्डेको तयारी छ।समितिले सो घटनामा संलग्न दोषीमाथि कारबाही गराउने र उनीहरूको व्यवस्थापनका लागि सरकारसँग पनि कुरा राख्ने जनाएको छ।

 

Published: 25 December 2018 | Setopati

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024