दिवसले छोएन मजदुरलाई
लीला श्रेष्ठ, प्रशान्त माली
नुवागाउँ रोल्पाकी २९ वर्षीया डण्डकली पुन चाँगुनारायण छालिङस्थित एक इँटाभट्टामा काम गर्छिन् । बिहान सबेरैदेखि इँटाको भारी बोक्नु उनको दैनिकी हो ।
उनलाई के दिवस, के अधिकार ? आइतबार मुलुकभर १२७औं मे (मजदुर) दिवस मनाइरहँदा इँटाभट्टाका मजदुरहरूलाई भने बिदासम्म पनि थाहा छैन । बिहानीको उज्यालो नझर्दै झयाउलीबाट निस्किएका उनीहरू धुलाम्य भट्टामा कोही इँटा बनाउँदै त, कोही बोक्नमा दिनभर व्यस्त छन् । ‘आफूले पाखुरा नबजारी खान पाउने होइन,’ डण्डकलीले भनिन्, ‘के दिवस, के अधिकार, गरिबलाई दिवसले छुँदैन ।’ ५ वर्षीया छोरी सिर्जनालाई धुलोमा छाडेर इँटाको भारी बोक्दै गरेकी डण्डकलीले प्रतिप्रश्न गरिन्, ‘हाम्रो परिश्रम र पसिनाको मूल्यांकन गर्ने निकाय पनि छ ?’
सानी छोरीका साथ इँटाभट्टा छिरेका उनको तीनजनाको परिवार माटो हो कि मान्छे नचिन्ने गरी धुलोमा काम गरिरहेका छन् ।
दिनरात इँटाभट्टाको काममा व्यस्त मजदुरलाई दिवस कहिले र किन मनाइन्छ पत्तो छैन । ‘हामी कामदारलाई बारसम्म याद हुँदैन, कसरी दिवस थाहा हुनु,’ चाँगुनारायण झौखेलका बाबुराजा सुलुले भने, ‘हामीलाई कामको मात्र याद हुन्छ, जेबिना हामी भोकै हुन्छौं ।’
भूकम्पले ढालेको घर ठडयाउने सपना बुन्दै साना दुई छोराछोरीसहित इँटाभट्टा छिरेका उनीहरू बिहान २ बज्दा नबज्दै माटो मुछ्न, इँटा बनाउन निस्कन्छन् । ‘भूकम्पले घर लडेको छ, थोरै पैसाको जोहो गर्न झयाउलीमा बस्दै आएका छौं,’ उनले भने, ‘छोराछोरी कोठा खोजेर बसौं भन्छन् ।’
घरबास छाडेर इँटाभट्टाको झयाउली छिरेका मजदुरहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म हजारदेखि १५ सयसम्म इँटा बनाउने बताउँछन् । तर, उनीहरूलाई अधिकारबारे जानकारी भए पनि काममा व्यस्त हुनु बाध्यता रहेको बताउँछन् ।
‘न हामीलाई आफ्नो अधिकारबारे थाहा हुन्छ, न आफ्नो सन्ततिलाई अधिकार सिकाउन सकेका छौं,’ उनले भने, ‘अधिकार–अधिकार भनेर मात्र भएन बाँच्ने आधार पनि त चाहियो ।’
इँटाभट्टामा कार्यरत मजदुरको काँधमा बालबच्चा हुर्काउने जिम्मेवारी पनि उत्तिकै चुनौतीपूर्ण छ । ‘जताततै माटो मुछ्न कृत्रिम पोखरी स्थापना गरिएको छ, बच्चा जोगाउनै मुस्किल छ,’ काभ्रे खरेपाँगुकी सपना परियारले भनिन्, ‘साना २ वर्षको छोरा छ, कामसँगै उसकै गोठालो बस्नुपर्छ ।’ इँटाभट्टामा कार्यरत मजदुरका बालबालिका खुला छाडिएका अस्थायी पोखरीका कारण असुरक्षित रहेको उनीहरूको गुनासो छ । प्रत्येक वर्ष भट्टाको पोखरीमा बालबालिका डुबेर मत्यु हुने गरेको छ ।
भट्टामा ज्यालाको भने कुनै विभेद नरहेको उनीहरू बताउँछन् । ‘गाउँमा मजदुरी गर्दा पुरुषको भन्दा महिलाको ज्याला आधा थोरै हुन्थ्यो यहाँ त्यस्तो विभेद छैन,’ रोल्पाकी दिलमाया पुनले भनिन्, ‘भट्टामा काम गर्न आउनुअघि नै पेस्की लिएका हुन्छौं, पछि जति काम गर्यो त्यति ज्याला पाइन्छ ।’ महिला भएकै कारण काम धेरैथोरै भन्ने विभेद यहाँ नभएको उनी बताउँछिन् ।
इँटा बनाउनेले दैनिक हजार र बोक्नेले पनि त्यति नै बराबरको काम गर्छन् । भट्टामा ज्यालाको विभेद नभए पनि आफ्ना बालिकाबालिकाले पढ्न पाउने अधिकारबाट वञ्चित भएको उनीहरू बताउँछन् ।
उनीहरूले एक सिजनमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म बचाउने गर्छन् । ‘गाउँमा बच्चालाई मात्र एक्लै छाड्ने कुरा भएन, बीचमा पढाइ छुटाएर ल्याएकाछौं,’ डण्डकलीले भनिन्, ‘यहाँ पढाउने व्यवस्था छैन, मेरी छोरीले पढ्न पाइनन् ।’
विभिन्न संघ–संस्थाले भट्टाका बालबालिकालाई पढाउने व्यवस्था गरेको बताए पनि यहाँका अधिकांश बालबालिका पढाइबाट वञ्चित छन् । जिल्लामा ६२ इँटाभट्टा सञ्चालनमा छ । एक भट्टामा २ देखि ४ सय मजदुर कार्यरत छन् । प्रत्येक भट्टामा कामदारका रूपमा आउने महिला र पुरुषको संख्या भने समान छ ।
‘पैसा हुनेलाई मात्र दिवस’
ललितपुर– उनी दिनभर व्यस्त देखिन्थे । घरी उनी अलकत्रा भरिएको ड्रम ओसार्थे घरी आगोमा हाल्थे । मोरङका ४५ वर्षीय हरि तामाङलाई यस्तै काममा साथ दिइरहेका छन् उनका १४ वर्षीय छोरा सुरोजले ।
दुवै ललितपुर उपमहानगरपालिका सुनाकोठीमा सञ्चालित अस्फाल्ट प्लान्ट (पिच तयार पार्ने मेसिन) मा काम गर्छन् । आइतबार टन्टलापुर धाममा बाबुछोरा अलकत्रा पगाल्न व्यस्त देखिन्थे । मुलुकभर १२७औं मजदुर दिवस मनाइरहँदा उनीहरू भने दिवसबारे बेखबर छन् ।
अलकत्रा पगाल्ने समयमा सामान्य गल्ती भए ज्यानै जान सक्ने खतरा हुन्छ । तर, कामदार भने एकजोर पन्जा पनि नलगाईकन काम गरिरहेका थिए । दिनभर आगोमा काम गर्नुपर्ने उनीहरूसँग जुत्ता पनि गतिलो छैन ।
भारतबाट अलकत्रा भरेर ल्याएको एउटा ड्रम पगालेबापत साहुले ८५ रुपैयाँ दिने गरेको उनीहरू बताउँछन् । ‘के गर्नु छोराले पढ्न मन गरेन्,’ हरि भन्छन्, ‘काम गर्नै पर्यो परिवार पाल्नै पर्यो ।’ मजदुर दिवसबारे केही जानकारी नभएको बताउने उनी भन्छन्, ‘यस्ता दिवस ठूलाबडाका लागि मात्र हो, हामी गरिबलाई होइन ।’
उनीहरूसँग अर्का एक बालक पनि अलकत्रा पगाल्न व्यस्त देखिन्थे । उनको शरीरमा पनि एकजोर गतिलो कपडा थिएन । अलकत्रा पगाल्दा निस्कने धुवाँबाट बच्न लगाइने मास्कसमेत थिएन । खाली हात आगो बाल्न डिजेल हाल्दै थिए ।
धादिङका श्याम र सुरेश भने अलकत्रा निकालिसकेपछिको ड्रम काटी सिधा पार्ने काम गर्छन् । एउटा ड्रम सिधा पारेबापत उनीहरूले ३५ रुपैयाँ पाउँछन् ।
घर भूकम्पले लडेको बताउने धादिङका श्यामले काम नगरे खान नपाउने बताए । दिवसबारे जानकारी भए पनि केही नहुने उनी बताउँछन् । ‘पैसा हुने लाई मात्र यस्तो दिवस आउँछ,’ उनले भने । मजदुर दिवसबारे प्लान्टका कामदारसँग बुझ्दा कसैलाई जानकारी छैन ।