सुशीलले पाए डेढ करोड रुपैयाँ क्षतिपूर्ति

27 October, 2017

कतार मरुभूमीमा पुगेर सडक निर्माणको काममा खटिँदै गर्दा नसोचेको दुर्घटनामा परेका धनुषा, हरिहरपुरका सुशीलकुमार यादवले घटनाको झण्डै २ वर्षपछि ‘पूर्ण अपाङ्गता’ आधारको क्षतिपूर्ति पाएका छन् । 

 

निर्माणको काम गर्ने क्युबिसी कम्पनीसम्बद्ध रहेर सेफ्टी–हेल्परको काममा जोडिएका यादव सडक निर्माणको कार्यरतस्थलमै दुर्घटनामा परेर ह्वीलचेयर र सहयोगीका भरमा हिँड्डुल गर्न सक्ने भएका थिए ।

 

‘दोहा नजिकै मन्सुरामा सडकको पाइपलाइनमा काम गरिरहेका बेला रातको दुइ बजे एउटा गाडीले आएर हानेको सम्झना छ, त्यसपछिका २० दिन बेहोस भएछु,’ सनैयास्थित एक प्रतिष्ठित कम्पनीमा आबद्ध सुशीलले हालै कान्तिपुरसँग भनेका थिए, ‘त्यसपछि हमाद र रुमैला हस्पिटल हुँदै उपचार गर्दा पनि कम्मर मुनिको भाग नचल्ने भएको छ, ह्वीलचेयर र एकजना सहयोगीका भरमा दुइ वर्षयताको जीवन धानिरहेको छु ।’ सुशीलसँग स्पाइनल कर्ड (सी–सिक्स)को गम्भीर समस्या रहेको अस्पतालले जानकारी दिएको छ । 

 

आफू राम्रै कम्पनी(क्युबीसी)सम्बद्ध रहेको र कागजातमा कानुनी हैसियत रहेकाले अहिले सबै रेखदेख कम्पनीबाटै भइरहेको सुशीलले जानकारी दिएका थिए । उनको साथ–सहयोगका लागि कम्पनीले  सिरहा घर भएका ४२ वर्षीय रामेश्वर दासलाई पुरै जिम्मा दिएको छ । दिसा–पिसाब गराउनेदेखि ह्वीलचेयरमा राखेर कम्पनी क्याम्प वरपर डुलाउने काम रामेश्वरले गरिरहेका छन् ।

 

कम्पनीले झण्डै १ हजार रियालको मासिक तलब पनि नियमित रुपमा दिइरहेकै छ । २६ वर्षे अविवाहित सुशीलले रोजगारदाता नियम र बीमा शुल्कसहित गरेर तत्काल ५ लाख ५० हजार रियाल (झण्डै १ करोड ६५ लाख रुपैंया) क्षतिपूर्ति पाएका छन् । उनको क्षतिपूर्ति रकम उठाउन पछिल्ला महिनामा दोहास्थित नेपाली दूतावासले पनि ताकेता गरिरहेको थियो ।

 

‘अब घर फर्केर फरक जीवन जिउन चाहन्छु,’ सुशीलले भने, ‘कतार आएको ८ वर्ष भैसकेको छ, फर्केर जान पाएको छैन । अब यो बिकलाङ्ग रुपमा घर फिर्दैछु, दु:ख पनि लागिरहेको छ ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024