सात वर्ष साउदी बसेकी सुनिताको कमाइ: मानसिक रोग !

12 November, 2017

वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा ।

 

यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी (४०) मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् ।

 

घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले जानकारी दिनुभयो ।

 

“साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई”, नारायणले भन्नुभयो, “त्यसयता सम्पर्क हुन सकेन ।” सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् ।

 

सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ । “छोरा पढाउने र घर बनाउने सपना थियो”, नारायणले भन्नुभयो, “पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।” हाल सुनिताको उपचार भइरहेको उहाँले बताउनुभयो ।

 

मासिक रु १४ हजार पारिश्रमिक पाउने शर्तमा साउदी पुगेकी सुनिताले गएको चार महिनापछि रु ५० हजार पठाएकी थिइन् । सो रकम उनले आफ्नो देवर प्रमोदको नाममा पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ ।

 

तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको रु १० लाख पाएको श्रीमान् नारायणले बताउनुभयो । उहाँले भन्नुभयो, “सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु ।” उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् ।  

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024