साउदी अरबमा नेपाली श्रमिकको वैधानिकीकरण सुरु

18 August, 2025

सरकारले श्रम स्वीकृति नलिई साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई वैधानिकीकरण गर्ने कार्य सुरु गरेको छ । 

साउदी अरबस्थित नेपाली दूतावास रियादले शुक्रबार आठ वर्षदेखि रियादमा कार्यरत अजय दङ्गालको बायोमेट्रिक लिई श्रम वैधानिकीकरणलाई औपचारिकता दिएको हो । 

उक्त कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह  भण्डारीले श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिक आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सिर्जना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकाले वैधानिकीकरण अभियान सुरु गर्नु परेको जानकारी दिनुभयो । साउदी अरबसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै उहाँले अबको सेवा प्रविधिमा आधारित रहने उल्लेख गर्नुभयो । 

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली वञ्चित भएकाले दूतावासबाटै श्रम वैधानिकीकरण कार्य आवश्यक रहेको औँल्याउनुभयो । 

साउदी अरबका लागि नेपालका राजदूत डा. नरेश विक्रम ढकालले साउदी अरबका रोजगारदाताबाट वैध भएर नेपाल सरकारबाट कागजी रूपमा अवैध मानिएकालाई आजबाट वैध हुन बाटो खुलेको जानकारी दिनुभयो ।  

साउदी अरबमा साढे तीन लाख श्रमिक कार्यरत रहेकोमा कागजातविहीनको सङ्ख्या १० देखि १५ हजारको हाराहारीमा रहेको अनुमान दूतावासको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024