श्रम स्वीकृति ११० देशसँग, श्रम सम्झाैता ८ सँग

15 December, 2018

तुलसी सुवेदी

वैदेशिक रोजगारीका लागि नेपालीको रोजाइका श्रम गन्तव्य राष्ट्रमध्ये अधिकांशसँग श्रम सम्झौता हुन सकेको छैन। कूटनीतिक पहल कमजोर भएका कारण अधिकांश मुलुकसँग श्रम सम्झौता हुन नसकेको हो।

वर्षाैदेखि युवा वैदेशिक रोजगारीका लागि जाने मुख्य गन्तव्य मुलुकसँग सरकारी तहमा द्विपक्षीय सम्झौता हुन नसक्दा नेपाली कामदारको सुरक्षाको वातावरण बन्न सकेको छैन। नेपालीका लागि मुख्य गन्तव्य खाडी मुलुक नै हुन्। दिनहुँ हजारौं युवा जाने खाडी मुलुकमा समेत श्रम सम्झौता हुन सकेको छैन।

 

रोजगारीका लागि एक सय १० देश खुला गरिए पनि मुस्किलले आठ देशसँग मात्रै श्रम सम्झौता भएका छन्। श्रम सम्झौता भएका अधिकांश देशमा डिमान्ड नै आउँदैनन्। मुस्किलले केही हजार हाराहारीमा मात्रै कामदार जान पाएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कतार, यूएई, जापान, कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसियासँग श्रम सम्झौता भएको हो। तर सम्झौता भएका अधिकांश मुलुकमा कामदार पर्याप्त मात्रामा जान सकेका छैनन्।

 

हालैमात्र मलेसियासँग भएको सम्झौता ऐतिहासिक भए पनि अझै कार्यान्वयन हुन सकेको छैन। जापान र इजरायलसँग सम्झौता भए पनि ती देशमा कामदार जाने प्रक्रिया पूर्णतया ठप्प छ। दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि सीमितमात्रै कामदार जान सकेका छन्। दक्षिण कोरियामा जीटूजीमार्फत वार्षिक सात हजार कामदार कोरिया पुग्ने गरेका छन्।

 

मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कामदारका मुख्य गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरिएको बताए। ‘कामदार जाने मुलुकसँग सम्झौता गर्ने तयारीमा छौं’, उनले भने। श्रम सम्झौतामार्फत वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।

 

कतारसँग सम्झौता परिमार्जनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। ‘कतारसँगको सम्झौता परिमार्जन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘सम्झौताका लागि नेपाली टोली डिसेम्बर अन्तिम साता कतार जाँदै छ।’ कतारसँग २००७ मै श्रम समझदारी भए पनि कामदारमैत्री छैन। कामदारमैत्री सम्झौताका लागि मन्त्रालयले प्रक्रिया अघि बढेको जनाएको छ। सन् २००५ मा कतारसँग श्रम सम्झौता भएको थियो। त्यस्तै २००७ मा अनुसूची थप भएको थियो। कतारसँग २०१९ को सुरुमै श्रम सम्झौता हुने र उक्त सम्झौता कामदारमैत्री हुन सक्ने डा. रेग्मीले बताए।

 

कामदारको अर्को मुख्य गन्तव्य साउदी अरब हो। साउदीमा कामदार जान थालेको लामो समय भइसक्दा पनि अझैसम्म श्रम सम्झौता हुन सकेको छैन। साउदीसँग केही वर्षअघिदेखि सम्झौताका लागि मस्यौदा आदानप्रदान भए पनि ठोस प्रगति हुन सकेको छैन। साउदीले घरेलु कामदारका लागि मात्रै श्रम सम्झौता गर्न चाहेको छ तर नेपालले घरेलु कामदार मात्र नभई सबै कामदारका लागि छुट्टाछुट्टै सम्झौता गर्न चाहेको छ। मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार साउदीसँग सम्झौताका लागि मस्यौदा बनेको छ। छिट्टै सम्झौता हुने उनले बताए।

 

साउदीसँगै यूएई, ओमनसँग छिट्टै सम्झौताको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ। वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी युवा विदेशमा छन्। सम्झौता भएका देशमाभन्दा नभएका देशमा युवा बढी छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024