‘विदेशमा जति दुःख गर्दा त स्वदेशमै राम्रो कमाउन सकिने रहेछ’

1 August, 2025

निर्मला घिमिरे

विदेशमा गरेको जति दुःख गर्दा त आफ्नै देशमा पनि राम्रो कमाइ गर्न सकिने रहेछ — शोभाकर पौडेलले सुरूमै आफ्नो अनुभव सुनाए।

६० वर्षीय शोभाकर अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का बासिन्दा हुन्। उनी २०५९ सालमै कमाउन भनेर मलेसिया गएका थिए। फर्किएपछि आफ्नै गाउँमा व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका छन्।

‘आफ्नै माटोमा मेहनत गरिरहेको छु। कमाइ पनि सन्तोषजनक छ,’ उनले भने।

अहिले उनको बारीमा मकैसँगै बर्खे तरकारी बोडी, सिमी फलेको छ। यी निकालेपछि उनी आलु रोप्छन्। एक सिजनमा २५ क्विन्टलसम्म आलु फलाउँछन्। आलु निकालेपछि मौसम अनुसारका विभिन्न तरकारी लगाउँछन्।

बारीमा सय वटा कागतीका नयाँ बोट छन् जसमध्ये यस वर्ष ६० वटामा फल लागेको छ। बम्बई आँप र अन्य मौसमी फलफूल, करिब १५० झाङ अलैंची र हुर्किँदै गरेका कफीका बिरूवा छन्। शोभाकरले खेतीसँगै पशुपालन पनि गरेका छन्।

खेती र पशुपालनको व्यावसायिकताका निम्ति उनले ‘सासूबुहारी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गराएका छन्।

यी सबै काममा शोभाकर सँगसँगै उनकी श्रीमती पनि खट्छिन्। उनीहरूले दुई जनालाई नियमित रोजगारी दिएका छन्। कामको दबाब परेका बेला ज्यालादारी कामदार लगाउँछन्।

‘तरकारी र फलफूलको व्यापार राम्रो छ। पछिल्लो एक वर्षमा मात्र आठ लाख रूपैयाँको तरकारी बेच्यौं,’ शोभाकरले भने।

उनको फार्म भएको गाउँ अलि दुर्गम छ। नजिक बजार छैन। त्यसैले उत्पादन पाल्पा, सन्धिखर्क र बुटवलका बजारमा पठाउँछन्। सन्धिखर्कमा उनले एउटा होटल खोलेका छन् जुन उनका कान्छा छोराबुहारीले सह्माल्छन्। केही तरकारी होटलमै खपत हुन्छ। यहाँ खपत हुने तरकारीको हिसाबकिताब राख्दैनन्।

‘हाम्रो होटलमा हामी आफैले फलाएको अर्गानिक तरकारी खुवाउँछौ,’ उनले भने।

व्यावसायिक कृषिमा लाग्नुअघि शोभाकरले विभिन्न काम गरे।

उनी २०५९ सालमा, ३७ वर्षको उमेरमा मलेसिया गएका थिए।

शोभाकर मलेसियामा फलफूलका बिरूवा उत्पादन गरेर बेच्ने नर्सरीमा काम गर्थे। बिरूवा गोडमेल गर्ने, सार्ने, मलजल गर्ने, विषादी छर्ने र सिंगो नर्सरी हेरचाह गर्ने काम उनको थियो। दिनमा आठ घण्टा काम गर्नुपर्थ्यो। हप्तामा दुई दिन बिदा पाउँथे। कमाइ सामान्य थियो।

उनी विदेश गएको अर्को वर्ष माओवादी द्वन्द्वकाल असाध्यै चर्केको थियो।

‘गाउँमा माओवादीले दुःख दिने क्रम बढेको थियो। जेठो छोराले प्रथम श्रेणीमा एसएलसी पास गरे पनि सशस्त्र द्वन्द्वकै कारण पढ्न पाएन। छोरालाई घरमा बस्न नदिएपछि ६ महिना काठमाडौंको गेस्ट हाउसमा राख्नुपर्‍यो,’ उनले भने, ‘पढाइ नहुने र खर्च गरेर काठमाडौं बस्नुभन्दा मैले काम गर्ने ठाउँका मालिकलाई भनेर उसलाई मलेसिया बोलाएँ।’

आफू फर्किने बेलामा शोभाकरले कान्छा छोरालाई पनि उतै बोलाए। छोराहरूलाई मलेसियामा रोजगारी दिलाएर उनी घर फर्के।

फर्केपछि उनले ११ लाख रूपैयाँमा बैंकको ऋण थपेर २१ लाखमा एउटा जिप किने। पाणीनि गाउँपालिकाबाट पाल्पा हुँदै बुटवलसम्म यात्रु बोकेर तीन वर्ष चलाए। तर खासै उपलब्धि भएन। उनले जिप बेचिदिए।

यसपछि उनले सात लाख रूपैयाँमा सन्धिखर्कमा एउटा होटल किनेर चलाए। होटल राम्रै चल्यो।

सात वर्षपछि छोराहरू मलेसियाबाट फर्किए। शोभाकरले होटल कान्छा छोराको जिम्मामा दिए। अनि आफू खेतीमा लागे।

‘दुवै छोराले कमाइ राम्रै गरे। सहरी क्षेत्रमा थोरैतिनो जमिन जोडेका छन्। जेठा छोरा बाँकेको कोहलपुरमा होटल चलाउँछ, कान्छालाई सन्धिखर्कको होटल भयो,’ शोभाकरले भने, ‘दुवैले होटल राम्ररी चलाएका छन्। दुई–चार जनालाई रोजगारी पनि दिएका छन्।’

छोराहरूको कामसँगै शोभाकर आफ्नो कृषिकर्मबाट सन्तुष्ट छन्। बिउ, औषधिमा वडा कार्यालय र गाउँपालिका कार्यालयबाट सहयोग पाएका छन्।

शोभाकर हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सम्मानित भएका थिए। विदेशबाट फर्केर आफ्नै ठाउँमा व्यवसाय गर्ने उद्यमीलाई मन्त्रालयले सम्मान गरेकामध्ये उनी एक हुन्।

‘विदेशमा जति दुःख गर्‍यो, त्यति नै पसिना आफ्नो देशमा बगाउन सके राम्रो कमाइ हुँदो रहेछ,’ शोभाकरले जोड दिँदै भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024