आश गुरुङ
रोजगारीका लागि कतारमा रहेका मध्यनेपाल नगरपालिका ६ भोर्लेटार पाखुरीचोकका ३५ वर्षीय श्रीकृष्ण घिमिरे दुई सातादेखि बेपत्ता भएका छन् ।गत फेब्रुअरी २४ (फागुन १२ गते) देखि कतारको सनैया सहरबाट हराएका उनी हालसम्म सम्पर्कमा नआएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।
कतारस्थित नेभी (मिलाह लजिष्टिक) मा हेल्पर पदमा कार्यरत घिमिरे आफू बस्दै आएको क्याम्पबाट हराएका हुन् ।मोबाइल, वालेट, परिचयपत्र समेत कोठामा छाडेर हिडेका घिमिरे आफन्त, साथीभाई र कम्पनीका कर्मचारी कसैको सम्पर्कमा पनि नआएको अध्यक्ष श्रेष्ठले बताए ।
घिमिरेको खोजीका लागि सामाजिक सञ्जालमा समेत सूचना जारी गरिएको छ । सम्भावित स्थान र व्यक्तिसंग सम्पर्क गरे पनि फेला पार्न नसकेको उनले बताए । उनको खोजीका लागि लमजुङ सेवा समाजका तर्फबाट नेपाली दूतावास र एनआरएनए एनसीसी कतारलाई पत्राचार गरेको अध्यक्ष श्रेष्ठले बताए ।
कतारमा सञ्जय रेग्मी, शिवभक्त पौडेल, शिव रसाईली, उत्तम रेग्मी लगायतका नेपाली युवा घिमिरेको खोजीमा लागेको श्रेष्ठले बताए । उनी लमजुङस्थित परिवारको सम्पर्कमा पनि नआएको मध्यनेपाल नगरपालिका ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले बताए । घिमिरे सम्पर्कवीहिन भएपछि घरमा बृद्धाआमा र पत्नी चिन्तित बनेको उनले बताए । घिमिरेका आमा, पत्नी र १० वर्षीय एक छोरा रहेको उनले बताए ।