रोजगार मेलामा काम खोज्दै युवा

31 Mar, 2025

लक्ष्मी तिमिल्सेना

नेपालगन्ज (बाँके), चैत १६ गते । नेपालगन्जमा शुक्रबारदेखि सञ्चालनमा आएको रोजगार मेला शनिबार पनि जारी छ । मेलामा विशेषगरी बेरोजगार व्यक्तिहरूको आकर्षण देखिएको छ । बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले उक्त मेला सञ्चालनमा ल्याएको हो ।

उक्त मेलामा दोस्रो दिन शनिबार समूह छलफल समेत चलिरहेको छ । रोजगारी पाउने र रोजगारी दिने दुबै पक्षलाई एकै ठाउँमा राखेर सङ्घले मध्यस्थकर्ताको काम गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताउनुभयो । मेलामा रोजगार प्रदायक होटल तथा उद्योग, व्यावसायिक प्रतिष्ठानले रोजगारीका लागि त्यहाँ आएकाहरूको आवेदन लिइरहेका छन् ।

स्नातक तह अध्ययनरत नेपालगन्ज उपमहानगरपालिका–१२ का २४ वर्षीया मनिसा घर्ती कामको खोजीमा हुनुहुन्थ्यो । यस मेलामा आफूले गर्नसक्ने काम पाउने आशाले आएको उहाँले बताउनुभयो । यस्तै, जानकी गाउँपालिका–३ रम्मुवापुरका ६० वर्षीय ज्येष्ठ नागरिक सागर गढिया पनि जीविकोपार्जनका लागि केही काम पाइन्छ भनेर मेलामा सोधिखोजी गर्न आएको बताउनुभयो । ‘यस उमेरमा बल लाग्ने काम त गर्न सक्दिनँ । तर, यसो सानोतिनो काम केही भए गुजरा चल्ने थियो’ उहाँले भन्नुभयो ।

मेलाले तत्काल र दीर्घकालीन रूपमा रोजगार सिर्जना गर्ने सङ्घको विश्वास छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामी मेलाबाट रोजगारदाता र बेरोजगार व्यक्तिलाई यसबाट ठुलो लाभ मिल्ने दाबी गर्नुहुन्छ । मेला अवधिमा मात्र कम्तिमा एक सय जनाले रोजगार पाउने आँकलन गरिएको समेत उहाँले बताउनुभयो ।

मेलामा तालिम प्रदायक सरकारी तथा गैरसरकारी निकायप्रति पनि बेरोजगार व्यक्तिको आकर्षण रहेको छ । मेलामा बाँकेका ग्रामीण क्षेत्रबाट समेत रोजगारी माग्न वृद्ध, वृद्धाहरू समेत आएका छन् । मेलामा विभिन्न प्रकारका ४० वटा स्टल राखिएको छ । रोजगारीको अवसरका लागि मेला महत्त्वपूर्ण माध्यम बनेको स्थानीय तहका रोजगार संयोजकको भनाइ छ ।

‘बेरोजगारलाई लक्षित गरी यो प्लेटफमको विकास गरेका हौं’ कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्मा भन्नुहुन्छ ‘युवालाई सिकाइसँगै दक्षता, सीप कला, अनुभवका आधारमा विभिन्न उद्योगसँग जोडिने मेलाबाट अवसर प्राप्त पनि हुन्छ’ मेलाबाट धेरैभन्दा धेरै युवाहरू लाभाम्वित हुने उहाँको विश्वास छ ।

स्थानीय तहमा सूचीकृत रहेका बेरोजगार व्यक्तिलाई रोजगारी दिलाउनु मेलाको मुख्य उद्देश्य रहेको नरैनापुर गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीले जानकारी दिनुभयो । यो मेला बाँकेमा पहिलो पटक सञ्चालन भएकाले झन महत्त्वपूर्ण भएको भन्दै यस मेलाबाट धेरैले लाभ लिन सक्ने बताउनुभयो ।

बाँकेका अधिकांश उद्योगीले भारतीय कामदारमार्फत आफ्ना उद्योग चलाइरहेका छन् । तर, नेपाली कामदारहरू भने कामका लागि भन्दै बर्सेनि भारतलगायत विभिन्न देशमा गइरहेको देखिन्छ । यस्तो अवस्थामा बाँकेमा पहिलो पटक सञ्चालन भएको रोजगार मेलाले रोजगारदाता र कामदारलाई जोड्ने काम गर्ने जयमङ्गलम् सिमेन्ट्स प्रालि बाँकेका प्रमुख सञ्जय अग्रवालको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024