रेमिट्यान्समा सुधार, मलेसिया जानेको संख्या सबैभन्दा धेरै

18 March, 2018

चालु आर्थिक वर्षको सात महिनामा ४ खर्ब १ अर्ब ३५ करोड रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आवको यसै अवधिकोभन्दा १ दशमलव ७ प्रतिशतले बढी हो। तुलनात्मक रुपमा पाँचौं र छैटौं महिनासम्म रेमिट्यान्सको वृद्धिदर ऋणात्मक भएकोमा सातौं महिनादेखि सुधार आएको हो।

 

यद्यपी वृद्धिदरमा आएको गिरावट भने यथावत छ। अघिल्लो वर्षको सात महिनामा रेमिट्यान्स ५. २ प्रतिशतले बढेकोमा यो पटक वृद्धिदर घटेर १.७ मा सीमित भएको हो।

 

सात महिनामा कामका लागि सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन्। यस अवधिमा ६८ हजार ७० जनाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

 

बाहिरिएकामध्ये मलेसिया जानेको हिस्सा ३१ दशमलव ४ प्रतिशत छ। दोस्रोमा रहेको कतारमा ५९ हजार २ सय ८२ नेपाली कामदार पुगेका छन्। गत वर्षको यस अवधिमा कतारमा जानेको संख्या सबैभन्दा धेरै रहेकोमा अहिले मलेसिया पहिलो गन्तव्य बनेको छ। गत वर्षको यस अवधिमा मलेसियामा ४८ हजार जाँदा कतारमा ७६ हजार नेपाली कामका लागि पुगेका थिए।

 

कतारपछि दुबई, साउदी अरब र कुवेत बढी नेपाली कामदार गएकामा क्रमशः तेस्रो, चौथो र पाँचौ मुलुकका रुपमा रहेका छन्।  साउनदेखि माघसम्म दुबईमा ३५ हजार ८१३, साउदी अरबमा २६ हजार ५९२ र कुवेतमा ८ हजार ७९६ नेपाली कामदार पुगेका छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024