रेमिटेन्स घट्दो क्रममा

22 November, 2019

मुलुकको व्यापार घाटा बर्सेनि बढिरहेका बेला रेमिटेन्स आय भने घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको सुरुका तीन महिना (साउन–असोज) मा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा कम भएपछि त्यअघिका वर्षहरुको भन्दा बढी छ। रेमिटेन्स आय भने उल्टै घटिरहेको छ।

व्यापार घाटा बढ्ने र रेमिटेन्स घट्दै जाने हो भने आगामी दिनमा अर्थतन्त्रमा समस्या देखिने छ। मासिक व्यापार घाटा एक खर्बभन्दा माथि छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत असोजमा रेमिटेन्स आय ४.९ प्रतिशतले घटेको हो। असोजसम्म २ सय ३० अर्ब २४ करोड रुपैयाँ रेमिटेन्स आएको छ। अघिल्लो वर्ष यो बेला रेमिटेन्स आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो। बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि ३.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि ०.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो।

चालु आवको तीन महिनामा रेमिटेन्स आय घट्ने, महँगी बढ्ने र सरकारको खर्च गर्ने क्षमता बढ्न नसक्नेबाहेक अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक देखिएका छन्। पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशतले बढेको छ। यो दसैं–तिहार जस्ता ठूला चाडपर्वको समय भएकाले पनि महँगी बढ्न सहयोग पुगेको हो। अघिल्लो वर्ष असोजमा पनि मुद्रास्फीति ४.६८ प्रतिशत थियो।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशतले बढेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्यवृद्धि उच्च छ। त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ।

क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकामा ८.१४, तराईमा ५.७५, पहाडमा ४.८९ र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति छ। गत वर्ष असोजमा यी क्षेत्रमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति थियो। बैंकका अनुसार नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा ४.६२ प्रतिशत छ।

बैंकका अनुसार गत वर्षको पहिलो तीन महिनामा चालु खाता घाटा ८१ अर्ब ७४ करोड रहेकामा यो वर्ष सुधार आएको छ। यो वर्ष २७ अर्ब १८ करोड मात्र चालु खाता घाटामा छ। यस्तै, मुलुकको शोधनान्तर स्थिति अहिले १४ अर्ब ४३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष भने ३५ अर्ब ४२ करोडले घाटामा थियो। चालु आवमा कुल विदेशी विनिमय सञ्चिति ४.७ प्रतिशतले बढेको छ। गत असारमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ सञ्चिति रहेकामा असोज मसान्तसम्म यो १० खर्ब ८७ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। तीन महिनामा विदेशी विनिमय सञ्चिति करिव ४९ अर्ब रुपैयाँ बढेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति नौ अर्ब ५४ करोड पुगेको छ।

चालु आवको तीन महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.८ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ।

यस्तै, चालु आवको असार मसान्तको तुलनामा असोजमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ४.१ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्ष ६.७ प्रतिशतले अवमूल्यन भएको थियो।

चालु आवको तीन महिनामा सरकारको वित्त स्थिति ४६ अर्ब ३८ करोडले बचतमा छ। अघिल्लो वर्ष यो ३२ अर्ब ८३ करोडले बचतमा थियो। यस्तै, संघीय सरकारको कुल खर्च एक खर्ब ७२ अर्ब ३३ करोड र राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) २११ अर्ब २८ करोड छ। अघिल्लो वर्ष कुल राजस्व संकलन दुई खर्ब ३२ करोड थियो। असोज मसान्तसम्म सरकारको विभिन्न खातामा एक खर्ब २१ अर्ब २७ करोड (स्थानीय तहको खातामा रहेको ४० अर्ब ४१ करोडसमेत) नगद मौज्दात छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.३ प्रतिशतले बढेको छ। बैंकका अनुसार चालु आवको तीन महिनामा कुल वस्तु निर्यात १४.४ प्रतिशतले बढेको छ। तीन महिनामा निर्यात २७ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात १६.१ प्रतिशतले बढेको थियो।

गन्तव्यका आधारमा भारततर्फको निर्यात ३५.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) लगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोसाक, ऊनी गलैंचा, तार लगायत वस्तुहरुको निर्यात घटेको छ।

यो अवधिमा कुल वस्तु आयात १०.३ प्रतिशतले घटेको छ। असोजसम्म तीन खर्ब ३४ अर्ब ९५ करोडका सामान आयात भएका छन्। अघिल्लो वर्ष यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.२ प्रतिशत र १९.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.६ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायत वस्तुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगन्ज, विराटनगर, मेची भन्सार र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाबाट गरिएको निर्यातमा ह्रास आएकोे छ। आयाततर्फ सुक्खा बन्दरगाह, मेची, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाबाट भएको आयातमा ह्रास आएको छ।

आर्थिक वर्षको तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले संकुचन भई तीन खर्ब सात अर्ब ७८ करोड रहेको छ। निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ६.४ प्रतिशत थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024