यूएईबाट फर्किएकाहरु भन्छन्, ‘मुलुक टेक्न पाउनुमा खुसी छौं’

6 June, 2020

लीला श्रेष्ठ

भक्तपुर — बारा कलैयाका जितेन्द्र सहनी वैदेशिक रोजगारका लागि २ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण डेढ महिनादेखि कामविहीन बनेका उनी शुक्रबार साँझ मध्यपुर थिमि राधेराधेस्थित हेरिटेज प्यालेसको ‘होल्डिङ सेन्टर’ मा आइपुगे । ‘

यूएईको एक कम्पनीमा हेल्परका रुपमा कार्यरत थिएँ,’ सहनीले भने, ‘कम्पनीले साह्रै दु:ख दियो, काम छोडेर अर्को कम्पनीमा जानु भन्दै निकाल्यो ।’

काम गर्दै गरेको कम्पनीले निकालेपछि स्वास्थ्य संकटको घडीमा अर्को काम पाउन सम्भव नभएको र रोगले मर्नुभन्दा आफ्नो मुलुकमा फर्किनु उचित लागेर आएको उनले बताए । ‘पैसाको नाममा यूएईको १० रुपैयाँ बाँकी छ, हिजोदेखि केही खान पाएको छैन,’ उनले भने, ‘आफ्नो मुलुक टेक्न पाएकोमा खुसी छु ।’ घरमा ४ सन्तानसहित ६ जनाको परिवार आफ्नो बाटो कुरेर बसेको उनले बताए ।

धनुषा जनकपुरका हरिकिशोर चौधरी यूएईमा तीन महिना सेल्फ क्वारेन्टाइन बसे । वैदेशिक रोजगारका लागि ८ महिनाअघि यूएई पुगेका चौधरीले पाँच महिनामात्र काम गर्न पाए । ‘ऋण गरेर धन कमाउन गएको थिएँ, रित्तै फर्किने परिस्थिति आइलाग्यो,’ उनले भने, ‘ऋण कमाएर पनि सकुशल आफ्नो मुलुक टेक्न पाउँदा खुसी लाग्दो रैछ ।’ भोकले लखतरान परेका चौधरीले यूएईमा पेट भरुञ्जेल खानसमेत नपाएको बताए ।

सर्लाही वाग्मतीका युवराज स्याङ्तान वैदेशिक रोजगारका लागि यूएई पुगेको छ महिनामात्र भयो । तीन महिना त ‘सेल्फ क्वारेन्टाइन’मै बिताएँ । एक कम्पनीमा हेल्परको रुपमा काम गर्न पुगेका स्याङ्तान खाली हात स्वदेश फिर्ता भएका छन् । ‘तीन महिनाको कमाईले टिकट भाडा किन्नमात्र पुग्यो,’ उनले भने ।

त्यस्तै, सप्तरी कञ्चनपुरकी सीतादेवी सतार यूएईको एक घरमा घरायसी काम गर्थिन् । ९ महिनाअघि घरायसी कामका लागि यूएई पुगेकी सतार मुलुकमा कोभिड–१९ संक्रमण फैलिएपछि दुई महिनादेखि कामविहीन भइन् । ‘काम गर्दै गरेको घरबाट जबरजस्ती निकालेर जेल पठायो,’ उनले भने, ‘बिनागल्ती जेल पठाएपछि, फिर्ता भएँ र स्वदेश फर्किएँ ।’ काम गरेको पारिश्रमिकसमेत मास्टरले खोसेको उनले गुनासो गरिन् । शुक्रबार यूएईबाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार आइपुगेका छन् । जसमध्ये, १ सय ५५ पुरुष र १३ महिला छन् ।

प्रदेश नम्बर १ का ४७ र प्रदेश २ का २३ जना नागरिकलाई भक्तपुरमा व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा विश्राम गराएको छ । ‘होल्डिङ सेन्टर’ मा फोटोसहितको नामावली विवरण संकलन गरेर खाना खुवाउने, सिमकार्ड वितरण गर्ने कार्य गरेको छ । खाना खुवाईवरी विश्राम गराएर आ–आफ्नो गन्तव्यमा पठाउने वीरदल गण सूर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024