युवा स्थापित, डोजर विस्थापित गर्न रोजगार बैङ्क

5 Dec, 2019

कमल शर्मा

दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैङ्कमार्फत युवालाई स्थापित गर्ने र डोजर विस्थापित नीति अगाडि सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ सुरु हुने श्रम रोजगार बैङ्कमार्फत १४० जना युवालाई रोजगारी दिनेछ भने युवालाई विकासमा स्थापित गराएर डोजर विस्थापित गर्ने भएको हो ।

दैलेखमा मात्र नभई नेपालभर डोजर आतङ्क र उपभोक्ता समितिमार्फत काम सञ्चालन गर्दासमेत काम प्रभावकारी र गुणस्तरीय नभएको र उपभोक्ता समितिले पनि कमिसनको लोभमा डोर हाजिर गरी भुक्तानी गरेको गुनासो आइरहँदा त्यो परम्परा तोड्न श्रम रोजगार बैङ्कले महìवपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

संविधानप्रदत्त रोजगारी हकलाई मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हकसम्बन्धी ऐन, २०७५ अनुसार श्रम रोजगार बैङ्क स्थापना गरी रोजगारी दिएकोे गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो । उहाँले चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारका अवसर सिर्जना गरी पाँँच वर्षमा गाउँपालिकाका युवा बाध्यात्मक वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्न श्रम रोजगार बैङ्कमार्फत रोजगारी दिन लागेको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले १० लाख रुपियाँभन्दा माथिका योजना टेन्डर प्रक्रियाबाट गर्ने प्रयास गरे पनि त्यसको प्रभावकारी हुन नसकेका कारण गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी बनाउन श्रम रोजगार बैङ्कमार्फत यो आर्थिक वर्षमा २१ वटा योजनामा युवाले काम गर्ने जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा १४० युवाको रोजगारीबाट २१ वटा खानेपानी, सडक, सिँचाइका योजना तयारीसाथ श्रम रोजगार बैङ्कमार्फत सूचीकृत भएका युवालाई तालिमसमेत प्रदान गरिएको छ । अब लगत्तै रोजगारीमा जोड्ने गाउँपालिकाले तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले बताउनुभयो ।

उहाँले श्रम रोजगार बैङ्कमार्फत गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व गर्ने गरी युवा छनोट गरेको र अब हुने विकास निर्माणमा डोजर र उपभोक्ता समितिलाई विस्थापित गर्ने तयारीसमेत रहेको बताउनुभयो । श्रम रोजगार बैङ्क स्थापना भएपछि गाउँपालिकामा रहेका बेरोजगार युवाको पहिचान र सूचीकरण गर्ने रोजगार केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी दिने व्यवस्था गाउँपालिकाले गरेको छ ।

सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, वन तथा पर्यटन, यातायात लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यमा समेत सहभागी गराउने लक्ष्य राखेको बताउनुभयो ।

श्रम रोजगार बैङ्कमा आबद्ध भएका युवालाई कसरी तलब खुवाउने कार्यविधि निर्माणको चरणमा रहेको गाउँपालिकाले जनाएको छ । रोजगार बैङ्कमार्फत खटिएका कामदारको स्वास्थ्य परीक्षण जाँच, इपान भर्ने, जीवन बीमा गर्नेजस्ता कार्यले पूर्णता पाइसकेको र प्राविधिकहरूले गाउँपालिकाका योजनाको प्राविधिक लगत तयार गरेपछि रोजगार बैङ्कमा आबद्ध युवाले विकास निर्माणका काम सुरु गर्ने र उनीहरूले पारिश्रमिक नेपाल सरकारले तोकेको दक्ष कामदार र अदक्ष कामदारका आधारमा ज्याला पाउने छन् ।

गाउँपालिकाले श्रम रोजगार बैङ्कमार्फत रोजगारी सिर्जना गरेसँगै गाउँका युवासमेत उत्साही भएका छन् । गाउँपालिकाले रोजगार बैङ्कमार्फत रोजगारी दिएसँगै आफूहरू उत्साही भएर काम गर्ने भगवतीमाई गाउँपालिका–२ का मानबहादुर शाहीले बताउनुभयो । उहाँले रोजगारीका लागि भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता भए पनि अब गाउँपालिकाले नै रोजगारी दिएपछि आफूहरू खुसी भएको बताउनुभयो । वैदेशिक रोजगारीमा १० वर्ष काम गरेका युवासमेत रोजगार बैङ्कमा आबद्ध भएर गाउँमा काम पाएपछि खुसी भएका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024