मानव बेचबिखन तथा ओसारपसारविरूद्ध कार्यक्रम

30 July, 2019

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सहसचिव कौशलचन्द्र सुवेदीले नेपालले अन्तर्देशीय संगठित अपराधविरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेकोले यस्ता संगठित अपराध रोकिने प्रतिबद्धता जनाएका छन्। मानव बेचबिखन तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा सोमबार महिला कानुन र विकास मञ्च (एफडब्लुएल्डी)ले पलेर्मो प्रोटोकल सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कानुनवीद्हरूले मानव बेचबिखनलगायत मानव अंग बेचबिचन तथा श्रमशोषणमा पनि अन्तर्राष्ट्रिय अपराध बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए। उनीहरुले यसका निराकरणका लागि पलेर्मो प्रोटोकल उपयोग हुने धारणा थियो। कार्यक्रममा अन्तर्देशीय संगठित अपराधविरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि (पलेर्मो प्रोटोकल)को मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचबिखनलाई दबाउने, रोक्ने र सजाय गर्ने परिपूरक उपलेख २००० कार्यान्वयनका लागि गर्नुपर्ने कामको बारेमा समेत केन्द्रीत गरिएको थियो।

उक्त कार्यक्रममा अन्तर्देशीय संगठित अपराध कसरी हुन्छ ? महिला र बालबालिका यसको सिकार कसरी हुन्छन् भन्ने शीर्षकका कानुनी व्यवस्था र तिनका निराकरणका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो। महिला कानुन र विकास मञ्च, युएस उड, युके एड, विनरकले गरेको सो कार्यक्रममा विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले पलेर्मो प्रोटोकल भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेको बताउँदै, भने ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ। यसो गरेमा नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ।’ अधिवक्ता रोसना प्रधानले उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको बताइन्।

साथै, माइती नेपाललगायत विभिन्न संघसंस्थाको साझेदारीमा मानव बेचबिखन तथा ओसार पसारविरूद्धको अन्तर्राष्ट्रिय दिवस आज मंगलबार राजधानीमा मनाइने भएका छन्। मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै उक्त दिवस मनाउने माइती नेपालका उपनिर्देशक अच्यूत नेपालले बताए। ‘नेपालका चेलीबेटीहरु विभिन्न बहानामा भारतको खाडीमा बेचिने गरेका छन्। बढी भारतको कोठीमा केन्द्रित भई बेचिन पुगेका छन्,’ उनले भने, ‘रोजगारीको बहानामा पनि मानव बेचबिखन भएको छ। ओसारपोसार रोक्नलाई मंगलबार चेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाउदैछौं।’ उनले पहिलेको तुलनामा अहिले कम मात्रमा मानव बेचविखन तथा ओसारपोसार हुने गरेको बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024