मन्त्री राजदूत भेट : द्विपक्षीय श्रम सम्झौता गर्न साउदी सहमत

17 Jan, 2019

तुलसी सुवेदी

साउदी अरेबिया नेपालसँग द्विपक्षीय श्रम सम्झौता गर्न सहमत भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको भेटमा नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेइड अल मारवानेले सम्झौताका लागि साउदी सकारात्मक भएको बताए।

द्विपक्षीय श्रम सम्झौताका लागि साउदी सरकारले यस अघि नै सम्झौताको मस्यौदा पठाइसकेकोले नेपाल सरकारको तर्फबाट प्रकृया अगाडि बढाइ दुवै मुलुकले प्राविधिक समूह गठन गरी छलफलबाट निष्कर्षमा पुग्न साउदी सरकार सकारात्मक रहेको बताए।

भेटका अवसरमा नेपाल र साउदी अरेबियाबीचको  सम्बन्धका विविध आयामका बिषयमा छलफल भएको थियो। मन्त्री विष्टले साउदी अरेबियामा ठूलो संख्यामा नेपाली श्रमिक रहेकाले सम्झौताका लागि जोड दिए।  उनले घरेलु कामदारको सम्बन्धमा अलग्गै द्विपक्षीय श्रम सम्झौता गर्नुपर्नेमा जोड दिए।  

सम्झौतापत्रमा नेपाली श्रमिक साउदी अरेबियामा जान निश्चित बिधि र शर्त तय गर्ने सहमति भएको छ। नेपाली श्रमिकको शव नेपाल ल्याउन लामो समय लाग्ने, श्रमिकले करार सम्झौता बमोजिमको पारिश्रमिक तथा सेवा सुबिधा पाउन कठिनाइ हुने, करार अवधि समाप्त भइसकेपछि समयमै स्वदेश फिर्ता हुन व्यवहारिक झञ्झट रहने जस्ता समस्या रहेकाले यस्ता समस्या समाधान गर्न नेपालले साउदीको ध्यानाकर्षण गराएको छ।  

भाषा र अन्य समस्याको कारणले सानो गल्ती गर्दा पनि नेपालीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै मन्त्री विष्टले  दुबै मुलुक जिम्मेवार हुन जरुरी रहेको बताए।

राजदूत मारवानेले नेपाली कामदारले साउदी अरेवियाको विकासमा सकारात्मक योगदान पुर्‍याएको चर्चा गर्दै नेपाली कामदार मिहिनेती, इमानदार र अनुशासित भएको बताए।

उनले श्रमिक आप्रवासन लेनदेन लागायतका अन्य विषयमा समेत नेपाल सरकारसँग सहकार्य गर्न साउदी सरकार तयार रहेको जानकारी दिए। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024