मजदुरलाई घरमै पुगेर नगरपालिकाले दियो खाद्यान्‍न

31 March, 2020

राजकुमार कार्की 

सिन्धुली — कोरोना भाइरस (कोभिड- १९) संक्रमण बढ्ने सम्भावित खतरालाई मध्यनजर गर्दै लकडाउनको अवधि लम्बिएपछि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका ६० परिवारलाई कमलामाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । 

ग्वाङखोलामा गिटी कुटेर गुजारा गर्दै आएका विपन्न परिवारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको हो। 

नगरप्रमुख खड्गबहादुर खत्रीका अनुसार खाद्यान्नलगायत राहत घरमै पुर्‍याएर वितरण गर्न सुरु गरिएको र संकलित तथ्यांकका आधारमा थप परिवारलाई राहत प्याकेज दिइने भएको छ। 

लकडाउनका कारण घरमै रहेका उनीहरूलाई खानको समस्या भएकाले चामल २० किलोको एक बोरा, दाल तीन किलो, आलु, चिनी, खानेतेल, नुन र बेसार वितरण गरिएको छ। 

नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार कमलामाई नगरपालिकाले नगर क्षेत्रमा मजदुरी गर्ने परिवारका ३९४ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। स्वास्थ्य बीमा गर्ने यी मजदुरमध्ये पहिलो चरणमा ६० जना गिटी कुट्ने मजदुरलाई राहत प्याकेज वितरण गरिएको हो। अन्यलाई दोस्रो चरणमा खाद्यान्न वितरण गरिनेछ। बीमा नभएका मजदुरको पनि लगत संकलन भइरहेको छ। यसैबीच सुपथ मूल्यको घुम्ती पसल कमलामाई नगरपालिकाको विद्युत चोक, माझीटार, बर्देउटार, डाडाटोल, रातमाटा प्लानिङ, पानीट्यांकी, ढुंग्रेबास, मिलन चौक र खट्टार, बजार क्षेत्र, धुराबजार लगायतका स्थानमा लगिएको छ। लकडाउनका कारण घरबाट बाहिर हिँड्न नपाएका उपभोक्ताहरूले घर आँगनमै सामान पाउँदा हारालुछ गरी किनेको सिन्धुली उद्योग वाणिज्य संघका अर्जुनकुमार श्रेष्ठले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024